तिहारपछि खुलेको सेयर बजार ६.४८ अङ्कले घट्यो


काठमाडौँ ।

तिहार बिदापछि एक सातापछि खुलेको सेयर बजारमा सामान्य गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४८ अङ्कले घटेर २ हजार ६४८.७४ विन्दुमा बन्द भएको हो ।

आज कारोबारमा आएका ३३५ स्क्रिप्टमध्ये १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०९ कम्पनीको बढेको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

दिनभर ३१ हजार ३०४ पटकको कारोबारमा ७८ लाख ४३ हजार ५८८ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ ।

आज स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.५६ प्रतिशत नाफा कमाएका छन् भने क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक ९.५६ प्रतिशत गुमाएका छन् ।

कारोबार रकमका आधारमा घोराही सिमेन्ट शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

समूहगत रूपमा विकास बैंक, होटल, जलविद्युत् र निर्जीवन बिमा समूहमा वृद्धि देखिएको छ भने अन्य समूहमा सर्वाधिक ०.९४ प्रतिशतको गिरावट आएको छ ।