महिला कर्मचारीद्वारा सञ्चालित एनसेल सेन्टर महाराजगञ्जमा



काठमाडौं।

एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्णरूपमा महिला कर्मचारीद्वारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

महिला कर्मचारीद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको उक्त एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने विश्वास एनसेलले गरेको छ । सम्पूर्ण रूपमा महिला कर्मचारीबाट सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याइएको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भन्नुभयो– ‘काठमाडौंको मुटु महाराजगञ्जमा पूर्णरूपमा महिला कर्मचारीद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौं । यो कदमले एनसेलको डीईआई अर्थात विविधता, समानता र समावेशी व्यवस्थालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्दछ ।

कार्यस्थलमा विविधताको समर्थनजस्ता रणनीति र अभ्यासहरूले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ ।त्यसै गरी एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले भन्नुभयो– ‘यसअघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरै जसो पुरुषको सहभागिता रहने गर्दथ्यो । विगत ३–४ वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरू भएका छन् । दूरसञ्चार क्षेत्रमा सेवा दिने परिपे्रक्षमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ । लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ ।’

महिलाकर्मचारीहरूद्वारा सञ्चालित यस एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवातथा सुविधाकाबारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरूसमेत लिन सक्ने भएका छन् ।
यसै गरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग चालु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।

एनसेल सेन्टर सञ्चालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विशेष अफर रहेको कम्पनीले जनाएको छ । जसअन्तर्गत उक्त सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । यस सेन्टरबाट गरिने प्रत्येक ५० को रिचार्ज बराबर ग्राहकले २० को रिचार्ज कार्ड बोनसस्वरूप प्राप्त गर्ने भएका छन् । यसको अर्थ १०० रिचार्ज गर्ने ग्राहकले २० को दुई वटा रिचार्ज कार्ड बोनसस्वरूप प्राप्त गर्दछन् । त्यस्तै, २०० रिचार्ज गर्ने ग्राहकले २० को चार वटा रिचार्ज कार्ड बोनसस्वरूप प्राप्त पाउँछन् भने ५०० रिचार्ज गर्ने ग्राहकले २० को १० वटा रिचार्ज कार्ड बोनसस्वरूप प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्