अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? कुन तला मनपर्छ ?



अपार्टमेन्टमा बसोवास गर्ने संस्कृति नेपालमा पनि शुरु भएको छ । कति त परम्परागत घरघडेरी बेचेर अपार्टमेन्टतिर लागेका छन् । हामीकहाँ अग्ला अपार्टमेन्ट पनि छन् । तर, कुन तलामा बस्न उपयुक्त हुन्छ भनेर व्यक्तिलाई अलमल भएको देखिन्छ ।

अपार्टमेन्ट निर्माण कम्पनी सिई समूहका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर विजय राजभण्डारीका अनुसार अपार्टमेन्ट किन्दा सबभन्दा पहिले आफूलाई कुन स्थान पायक पर्छ भन्नेमा ध्यान दिनुपर्छ । अरूले भनेका आधारमा वा सुनेका भरमा रोज्न हुँदैन । अपार्टमेन्ट आसपास अस्पताल, स्कुल, कलेज, सपिङ कम्प्लेक्स आदि के के सुविधा छन्, याद गर्नुपर्छ ।

स्थान छानेपछि अब कस्तो किन्ने भन्नेबारे सोच्नुपर्छ । आफूलाई कति क्षेत्रफलको, कति बेडरूमको अपार्टमेन्ट चाहिने हो निधो गर्नुपर्छ । हावा चल्ने दिशा, बिहान–बेलुका घाम पर्ने र उज्यालो छिर्ने कोठा, भ-याङ र लिफ्टको सुलभ पहुँच आदिमा ध्यान दिनुपर्छ ।

अपार्टमेन्टको कुन तला किन्ने भन्ने चाहिँ रुचिमा भरपर्छ । कसैलाई उचाइमा बस्न मन लाग्छ भने किन भुईंतलामा बस्ने ? कसैलाई अग्लोमा बस्न मनपर्छ, कसैलाई तलतिर । आवश्यकता हेरी तला छान्नु ठीक हुन्छ । केटाकेटी वा बुढाबुढी भएकाहरूले सामान्यतया तल्लो तला रोज्नु राम्रो हो ।

‘कुनै पनि बेला हतार नहुने, अपार्टमेन्ट किन्न पैसाको चिन्ता नहुने र माथिबाट सहरी दृश्य हेरेर आनन्द लिन चाहनेलाई माथिल्लो तला राम्रो हुन्छ’ राजभण्डारी भन्नुहुन्छ । अग्लो ठाउँमा बस्नै डराउने पनि धेरै हुन्छन् । कतिपयलाई २०७२ को भुइँचालोले पनि तर्साइरहेको छ । माथिल्लो तलामा कम्पन पनि बढी महशुस हुन्छ । यस्तोमा मान्छे तलै बस्न मनपराउँछन् ।

माथिल्लो तलाका फाइदाः

-माथिल्लो तलामा हावा धेरै चलिरहने हुँदा सधैं ताजा महशुस हुन्छ । बिहानदेखि बेलुकासम्म कोठाहरूमा घाम छेकिँदैन । लामखुट्टे वा अन्य कीराकिरी आउने चिन्ता पनि हुँदैन ।
– सहरको पर–परसम्मका दृश्य हेर्न चाहनेका लागि पक्कै पनि सबभन्दा माथिको वा यसभन्दा एक–दुई तलामुनिका फ्ल्याटहरू आकर्षक हुन्छन् । माथिल्लो तला धूलो–धुँवा, सवारीका आवाजबाट पनि धेरै हदसम्म मुक्ति मिल्छ ।
-माथिल्लो तलामा कहिलेकाँही हिँडेर जान सकियो भने व्यायाम पनि राम्रै हुन्छ । त्यसो त तल बस्ने पनि माथि जान सक्छन्, तर आवश्यकता परेपछि मात्र जाने हाम्रो बानी लागिसकेको हुन्छ
बेफाइदाः
-ठाउँ अनुसार माथिल्लो तल्ला महँगो हुन्छ । जस्तैः पोखरातिर हिमाल, तालको दृश्य निकै सुन्दर हुन्छ । त्यस्ता दृश्य देखिने दिशातिर फर्किएका फ्ल्याट तुलनात्मक रूपमा महँगो नै हुन्छ । यसका लागि बढी पैसा तिर्न तयार हुनुपर्छ ।
-अपार्टमेन्ट किनेपछि सामान पनि सार्नुपर्छ । सामान किन्दा होस् वा सामान सार्दा, माथिल्लो तलामा पु¥याउन मुस्किल हुन्छ । ठूला सामान भए लिफ्टबाट लैजानै सकस हुनसक्छ । साथै, टुटफुट हुने सम्भावना पनि रहन्छ ।
– लिफ्ट बिग्रेको अवस्थामा वा खाली नहुँदा हतार भएको छ भने माथिल्लो तलाको बसाइ झन्झटिलो हुन्छ । अझ सामान सार्नुको सास्ती कति हो कति !
तल्लो तलाको फाइदाः
– तल्लो तलामा बस्नु भनेको समयको बचत गर्नु हो । केही सामान सकिँदा वा आवश्यक पर्दा, स्कुल, कलेज, अफिस जाँदा–आउँदा छिटो काम सम्पन्न गर्न सकिन्छ ।
– आपतविपतमा तल्लो तलाबाट फुत्त निस्कन सकिन्छ । भुइँचालोजस्ता प्रकोपमा पनि छिटो निस्किन सकिने हुनाले धेरै सुरक्षित महशुस हुन्छ ।
-तुलनात्मक रूपमा माथिल्लो तलाभन्दा तल्लो तलाको मूल्य कम हुन्छ । यसरी पैसा बचत गर्न पनि सकिन्छ ।
-बच्चा, बुढापाका, बिरामी भएका परिवारका लागि माथि–तल गरिरहनुभन्दा तलका फ्ल्याटहरू उपयुक्त मानिन्छन् ।
बेफाइदाः
-तल्लो तला प्रायः ओसिलो रहन्छ । घाम छेकिने सम्भावना धेरै हुन्छ । चिसो मौसममा बच्चा र वृद्धलाई नै अप्ठ्यारो पर्नसक्छ ।
– लामखुट्टे लाग्ने, कीरा आउने सम्भावना पनि उत्तिकै हुन्छ ।
– गर्मी मौसममा पनि चिसो हुने तल्लो तलाका फ्ल्याटको बसाइ जाडो याममा थप झन्झटिलो हुन सक्छ । लगातार हिटर चलाउनुपर्ने वा कुनै कोठा त पूरै अँध्यारो हुने भएकाले बिजुलीको बिल बढ्न सक्छ ।
अनावश्यक हल्ला, धूलो–धुँवा र दुर्गन्ध आउनसक्छ ।

प्रतिक्रिया दिनुहोस्