कालज्वरबाट एक जनाको मृत्यु, आठमा संक्रमण



 बैतडी । 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ जनामा कालज्वरको संक्रमण देखिएको छ भने तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका २, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका एक÷एक जनामा कालज्वर देखिएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले नेपाल समाचारपत्रसँगको कुराकानीमा कालज्वर देखिएकामध्ये शिवनाथका एकजनाको ३ वर्षीय बालकको केही महिना अघि मृत्यु भएको बताउनुभयो ।

आठ जनामा कालज्वर पुष्टि भएपछि नेपाल सरकारको नीतिअनुसार सम्पर्कमा रहेकाहरूको परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘ कुनै व्यक्तिमा कालज्वर देखिएमा सम्पर्कमा रहेका कम्तीमा २५ जनाको नमुना संकलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २५ जनाको नमुना संकलन गरेर परीक्षण गरेका छौं ।’ उहाँले नमुना संकलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयहरूको कालज्वर परीक्षण गरेको हो । कालज्वर समुदायका अरू व्यक्तिमा पनि हुनसक्ने भएकोले परीक्षण गरिएको हो । नमुना परीक्षणबाट नेगेटिभ आएपछि उक्त समुदायमा कालज्वर नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कालज्वर भए नभएको रगत परीक्षणबाट थाहा हुन्छ ।
स्यान्ड फ्लाई नामक भुसुनाको टोकाइबाट कालज्वर सर्ने गर्दछ । भुसुनाको टोकाइबाट बच्नु नै यसको संक्रमणबाट बच्ने प्रभावकारी उपाय रहेको स्वास्थ्यकर्मीले बताएका छन् । यसका साथै व्यक्तिगत र वातारणीय सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् ।

कालज्वर भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको संक्रमण हुने, तौल घट्नु, थकान महशुस हुनु, रक्तअल्पता हुनु लगायतका लक्षणहरू देखा पर्दछन् ।कालज्वरबाट बच्नका लागि साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कने, बाहिर जाँदा वा असुरक्षित घरहरूमा बस्दा मौसमअनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोप्ने कपडा लगाउने, लामो बाहुला भएको सर्ट, लामो पाइन्ट र मोजा लगाउने र सर्टलाई पाइन्टभित्र घुसार्ने, शरीरको लुगाले नढाकिएको भागमा तथा सर्टको बाहुला र पाइन्ट गोडातिरको खुल्ला भागमुनि कीरा भगाउने मलहमहरू लगाउन स्वास्थ्यकर्मीहरूको सुझाव छ ।

त्यसै गरी कालज्वरबाट खुल्ला झ्यालढोकामा जाली लगाइएको वा वातानुकूलित (एयरकन्डिसन भएको) स्थानमा बस्ने, स्यान्ड फ्लाई नामका भुसुनाहरू लामखुट्टेभन्दा साना हुने भएकाले ससाना प्वालहरूबाट पनि सजिलै छिर्न सक्छन् भएकोले सुत्ने वा विश्राम गर्ने स्थानहरूमा कीरा मार्ने विषादी छर्कने, झ्यालढोकामा जाली नलगाइएको वा वातानुकूलित (एयरकन्डिसन) नभएको स्थानमा सुत्नु परेको अवस्थामा झुलको प्रयोग गर्ने र झुललाई चारैतिर डस्नाले थिचेर कीराहरू छिर्न नसक्ने बनाउनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्