काठमाडौँ।
चितवनको नारायणगढबाट अपहरणमा परेका १६ वर्षीय बालकलाई प्रहरीले काठमाडौँबाट सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्।
सोमबार साँझ भारतीय नम्बर प्लेटको गाडीमा आएका करिब ५–६ जनाको समूहले ती बालकलाई चितवनबाट जबर्जस्ती नियन्त्रणमा लिएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
अपहरणपछि बालकलाई काठमाडौँ ल्याई एक होटलमा बन्धक बनाएर परिवारसँग फिरौती मागिएको सूचना प्राप्त भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु सक्रिय बनेको थियो।
विशेष सुराकीको आधारमा प्रहरीले काठमाडौँको बसपार्क क्षेत्रस्थित एक होटलमा छापा मारी बालकलाई सकुशल उद्धार गरेको हो।
यस घटनामा संलग्न रहेको आरोपमा भारत बिहार घर भएका सुजित कुमार, मोहम्मद साहिद, गोलु कुमार, बिक्की कुमार र अर्का एक गोलु कुमारलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा फिरौती असुल्ने उद्देश्यले अपहरण गरिएको खुलेको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया