कारागारबाट फरार चेक अनादर मुद्दाकी कैदी पक्राउ


काठमाडौं ।

चेक अनादर मुद्दामा चार वर्ष कैद सजाय भुक्तान गरिरहेकी एक महिला कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ निवासी ४८ वर्षीया रमा चौलागाईलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार गोकर्णेश्वर नगरपालिका–५ शिवचोक क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौलागाईविरुद्ध चेक अनादर सम्बन्धी दुई वटा मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७७ पुस २८ गते र २०७९ पुस २८ गते कैद सजाय सुनाएको थियो। अदालतको फैसलाअनुसार उनी चार वर्ष कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारामा रहेकी थिइन्।

तर गत भदौ २४ गते कारागारभित्र भएको प्रदर्शन तथा अव्यवस्थाको क्रममा उनी कारागारबाट फरार भएकी थिइन्। त्यसयता फरार रहेकी चौलागाईको खोजी तथा निगरानी गर्दै आएको प्रहरीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार चौलागाईविरुद्ध चेक अनादर मुद्दामा कुल ४५ लाख रुपैयाँ विगो कायम भएको छ। उनीविरुद्ध ०७६-C4-०५३३ र ०७६-C4-०९८० नम्बरका मुद्दामा फैसला भएको थियो।

पक्राउ परेकी चौलागाईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय सुन्धारामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियान अन्तर्गत फरार प्रतिवादी तथा कैदीहरूको खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ।