दासढुंगामा म्याजिक र स्कार्पियो ठोक्किँदा ८ जना घाइते


काठमाडौँ।

चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा म्याजिक र स्कार्पियो आपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३–०१–०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा दुवै सवारीमा सवार यात्रुहरू घाइते भएका हुन्।

घाइते हुनेहरूमा नवलपरासी गैंडाकोट नगरपालिका–४ की ४९ वर्षीया गौरी लामिछाने, सोही ठाउँकी २८ वर्षीया मनिसा आले, उनको २० महिनाका छोरा पिन्स आले, चितवन भरतपुर महानगरपालिका–१ की २७ वर्षीया सिता दानी, इच्छाकामना गाउँपालिका–६ की २४ वर्षीया रचना गुरुङ र सोही ठाउँका ५३ वर्षीय कान्छा दागी रहेका छन्।

त्यस्तै, स्कार्पियोमा सवार सर्लाही हरिवन नगरपालिका–८ की ४५ वर्षीया कविता अग्रवाल र उनका श्रीमान ५३ वर्षीय शशि भसाल अग्रवाल पनि घाइते भएका छन्।

घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका–४ का ३९ वर्षीय अशोक परियार र स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–२ का ३४ वर्षीय अशोककुमार महतलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।