‘अग्नीपथ’ योजना विरुद्ध भारतमा हिंसात्मक प्रदर्शन



नयाँ दिल्ली ।

भारतमा सङ्घीय सरकारले घोषणा गरेको अग्नीपथ योजना विरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेका छन् ।

प्रदर्शनका क्रममा आन्दोलनकारीले ३४० भन्दाबढी रेल सेवालाई प्रभावित पारेका छन् भने ठूलो भौतिक क्षति भएको छ ।

अग्नीपथ योजनाका विरुद्धमा विषेश गरेर युवा आक्रोसित भएका छन् । उनीहरुले अन्याय र अव्यवहारिक योजना सरकारले ल्याएकाले त्यो फिर्ता हुनुपर्ने माग गरेका छन् ।

भारतको सङ्घीय रक्षा मन्त्रालयले गत मङ्गलबार घोषणा गरेको अग्नीपथ योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन् ।

भारतका जल सेना, स्थल सेना र वायु सेना गरी तीन ओटै सैन्य सेवामा जवान पदका लागि चार वर्षे सेवा अवधिका लागि मात्रै भर्ना खुलाउने ‘अग्निपथ’ योजनामा उल्लेख गरिएको छ ।

त्यसका लागि २१ वर्षमा भर्ना हुन पाउने र २५ वर्ष पुग्दा उनीहरु अवकास हुनुपर्ने व्यवस्था गरिएको छ । भर्ना भएकामध्ये २५ प्रतिशतले मात्रै चौथोबाट सेवालाई निरन्तरता दिन पाउने र बाँकी ७५ प्रतिशतले सैन्य सेनाबाट बाहिरिनुपर्ने भएपछि युवाहरु आक्रोसित भएका हुन् ।

ती अवकास भएकाले पनि पेन्सन नपाउने व्यवस्था गरिएकाले युवा थप रुष्ट भएका छन् ।

सरकारले धेरै युवालाई रोजगारीको अवसरका लागि यस्तो योजना ल्याएको दावी गरेपनि युवाले भने यसलाई अव्यवहारिक र अन्यायपूर्ण भएको दावी गरेका छन् ।

आन्दोलनकारी युवाले रक्षा खर्च कटौती गर्ने बाहनामा लाखौँ युवाको भरपर्दो अवसरलाई सरकारले खोसेको आरोप लगाएका छन् ।

चार वर्षे जागिरले युवालाई जीवन निर्वाहका लागि पर्याप्त आम्दानी नहुने र बाँकी जीवन थप अन्यौलपूर्ण हुने उनीहरुको भनाइ छ ।

आन्दोलनकारीले विषेशगरी रेल सेवालाई क्षति गरेकाले हिंसात्मक र क्षति हुने गतिविधि नगर्न सरकारले उनीहरुलाई आग्रह गरेको छ ।

रेल मन्त्री अश्विनी वैष्णवले रेल सेवामा क्षति पु¥याउँदा आम नागरिकलाई नै घाटा हुने भएकाले रेल सेवालाई प्रभावित नपार्न अनुरोध गर्नुभएको छ । उहाँले आफ्ना मागलाई शान्तिपूर्ण तरिकाले उठाउन सुझाव पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्