लुम्बिनी सेवा समाज अमेरिकाद्वारा विद्यालयमा अक्षयकोष स्थापना



बुटवल ।

लुम्बिनी सेवा समाज अमेरिकाले रुपन्देहीको देवदह नगरपालिका चरङ्गेस्थित सीता माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।
समाजका संस्थापक स्वर्गीय कमल शर्माको स्मृतीमा समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । शर्माको परिवारसँगको सहकार्यमा समाजले हरेक वर्ष गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न स्व. कमल शर्मा स्मृती अक्षयकोष स्थापना गरेको हो । समाजका सम्पूर्ण सदस्यले संकलन गरेको रकम र शर्माको परिवारले उपलव्ध गराएको रकमबाट अक्षयकोष स्थापना गरिएको हो । बिहीबार विद्यालयमा आयोजित एक समारोहका बीच समाजकी उपाध्यक्ष लता प्रधान र स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले विद्यालयका प्रधानाध्यापक महेशकुमार थैवलाई रकम हस्तान्तरण गर्नु भएको हो ।

त्यस अवसरमा बोल्दै देवदह नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एकबहादुर सुनारले अक्षयकोषका लागि आएको रकमको सही सदुपयोग गर्ने सुझाव दिनु भयो ।

रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुने विश्वास व्यक्त गर्दै यहाँको गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला हुने बताउनु भयो ।

समाजकी उपाध्यक्ष लता प्रधानले विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको भन्दै समाजले मानवीय कामका साथै शिक्षा क्षेत्रमा पनि सहयोग गर्दै आएको बताउनु भयो् ।

स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले यो अक्षयकोषले केही हद सम्म राहत दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कार्य र सहयोगमा निरन्तर लागिरहने बताउनु भयो ।

कार्यक्रममा रुपन्देहीका पुर्व सहायक जिल्ला शिक्षा अधिकारी मोतीराज पौडेल, विद्यालयका प्रधानाध्यापक महेशकुमार थैव, शिक्षक शिवलाल क्षेत्री लगायतले विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालय छनौट गरी अक्षयकोष स्थापना गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्