काठमाडौँ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ जिम्मेवारी दिने सरकारको निर्णयप्रति नागरिक समूहले आपत्ति जनाएको छ।
समूहले प्रहरी सङ्गठनलाई राजनीतिक स्वार्थअनुसार सञ्चालन गर्ने प्रयास बन्द गर्न सरकारलाई खबरदारी गर्दै नेतृत्व परिवर्तनको आधार र औचित्य सार्वजनिक गर्न माग गरेको छ।
नागरिक समूहका अध्यक्ष विष्णु हरि दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा प्रहरी सङ्गठन कुनै प्रधानमन्त्री वा गृहमन्त्रीको निजी सम्पत्ति नभएको उल्लेख गरिएको छ। प्रहरी नेतृत्व कानुन, विधि र संस्थागत आवश्यकताका आधारमा तय हुनुपर्ने समूहको भनाइ छ।
सरकार परिवर्तन हुँदैमा सुरक्षा निकायको नेतृत्व परिवर्तन गर्ने प्रवृत्ति लोकतान्त्रिक शासन व्यवस्थाको मर्मविपरीत रहेको समूहले जनाएको छ।
राजनीतिक हस्तक्षेपले प्रहरी कर्मचारीको मनोबल, व्यावसायिक भविष्य र निष्पक्ष अनुसन्धानमा असर पार्ने चेतावनी दिँदै समूहले जिम्मेवारी हेरफेरमा अपनाइएको कानुनी तथा प्रशासनिक प्रक्रियाबारे नागरिकलाई जानकारी गराउन माग गरेको छ।
साथै, प्रहरी सङ्गठनको व्यावसायिक स्वायत्तता कायम राख्न र राज्यका संस्थालाई राजनीतिक नेतृत्वको निजी इच्छाअनुसार सञ्चालन गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारसँग आग्रह गरेको छ।












प्रतिक्रिया