प्रदर्शक तथा वितरकहरुको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्षमा प्रदर्शक तथा वितरक वीरेन्द्रनारायण श्रेष्ठ विर्विरोध निर्वाचित भएका छन्।
शनिबार राजधानीमा सम्पन्न नेपाली फिल्म क्षेत्रकै सबैभन्दा पुरानो संगठन नेपाल चलचित्र संघको ४७औं वार्षिक साधारणसभाले श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो। नारायणगढको जलमा फिल्म हल, परासीस्थित बिस्कुट र पेपर मिल उद्योगका सञ्चालकसमेत रहेका श्रेष्ठ आगामी तीन वर्षको लागि संघको अध्यक्षमा निर्वाचित भएका हुन्।
श्रेष्ठले फिल्मसम्बद्ध संघसंस्थालाई एकजुट बनाएर लैजाने र कोभिड महामारीबाट प्रभावित हलको राहतका लागि काम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताए।
साधारणसभाले कुबेर शर्मा, गोपालकाजी कायस्थ, नरेन्द्र महर्जन, ओम जैशी, कपिल द्वा, भाष्कर ढुंगाना, चैतन्य बराल, निरज कार्की, गोविन्द शाही, युवराज प्रसाई, प्रज्ज्वल शम्सेर जबरा सुरेन्द्र थापा र राजकुमार श्रेष्ठलाई अन्य पदाधिकारीमा चयन गरेको छ। संघको विधानअनुसार अध्यक्ष श्रेष्ठले यिनैमध्येबाट अन्य पदाधिकारी चयन गर्नेछन्। त्यसैगरी, निरज गुप्ता पूर्वाञ्चल सभापति र केदार पराजुली पश्चिमाञ्चल सभापतिमा निर्वाचित भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उ-यनमन्त्री प्रेमबहादुर आलेले फिल्मकर्मीका समस्या समाधानका लागि पहल गर्ने बताए। मन्त्री आलेले फिल्मकर्मी देश लाई चिनाउने एक धरोहर भएकाले उनीहरुलाई परेका समस्या तथा बाधा अवरोधसहित समस्या समाधानका लागि आफू सधैं लागि पर्ने बताए।
फिल्म क्षेत्रलाई डिजिटल युगमा अघि बढाउन संघले उल्लेख्य भूमिका निर्वाह गरेको चर्चा गर्दै आलेले छिमेकी मुलुक भारतका कलाकारलाई मन्त्रीस्तरको सम्मान दिइने गरेको र नेपालका कलाकारले विदेश जाँदा विमानस्थलमा भीआईपी कक्षसमेत नपाउने गरेको गुनासो आएकाले मन्त्रालयका तर्फबाट कलाकारलाई भीआईपी कक्ष उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा भीआईपी पासका लागि पत्र लेखी पठाउने पनि बताए।











प्रतिक्रिया