मतदान अधिकृतलाई तालिम धमाधम मतदान केन्द्र पठाउने तयारी



मनाङ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले स्थानीय तह निर्वाचनका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी मतदान केन्द्रमा पठाउने तयारी गरेको छ ।

जिल्लाका चार वटै पालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरेर केन्द्रमा पठाउने तयारी भएको छ ।जिल्लाका २८ मतदान स्थलका २८ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइने जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । निर्वाचनमा खटिने २८ मतदान अधिृकत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी टाढा रहेका मतदान केन्द्रतर्फ पठाउन लागिएको शर्माले बताउनुभयो ।

‘टाढा मतदान स्थल रहेका मतदान अधिकृत र सहायक मतदान अधिृकतलाई आजै पठाउने तयारी गरेका छौं, उहाँहरूलाई सामग्रीसहित पठाउने तयारी भइरहेको छ’, उहाँले भन्नुभयो– ‘नार्पाभूमि क्षेत्रमा आजै पठाउने तयारी गरिएको छ । अन्यत्र भने भोलि र पर्सिभित्र मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पठाउनेछौं । मतदान केन्द्रका लागि सामग्री पनि तयारी अवस्थामा राखेका छौं ।’

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले निर्वाचनमा खटिने कर्मचारीले निष्पक्ष भएर जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । आचारसंहितामा बाँधिएर निर्वाचनलाई सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै खनालले भन्नुभयो– ‘निर्वाचनमा खटिएपछि सबैले आफ्नो आस्थालाई बिर्सिनुपर्छ, सबैलाई समान नजरले हेरेर निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्छ ।’

छनौट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतपेटिका र मतपत्र हस्तान्तरण गरी मतदान केन्द्रमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा अवस्था मजबुत बनाइएको भन्दै ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । ‘मतदान केन्द्रमा सुरक्षाको अवस्था मजबुत बनाइएको छ, सुरक्षामा कुनै कसुर बाँकी राखिँदैन’, उहाँले भन्नुभयो– ‘ढुक्क भएर निष्पक्ष रूपमा जिम्मेवारी वहन गर्नेतर्फ ध्यान दिन अनुरोध गर्दछु ।

’ मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ आचार्यले बताउनुभयो ।प्रहरी नायव उपरीक्षक प्रेम सागर केसीले हरेक मतदान केन्द्रमा प्रहरी परिचालित हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभयो । निर्वाचनमा कुनै शङ्कास्पद गतिविधि भएको पाइए तत्कालै प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो । ‘हरेक मतदान केन्द्रमा प्रहरी परिचालन गरिएको छ, सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ’ –उहाँले भन्नुभयो ।

तालिममा कानुनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको निर्वाचन कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्