निमावि तृतीय श्रेणीको परीक्षाफल प्रकाशित



काठमाडौं । 

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको खुलातर्फको सामान्य विषयको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । निम्न माध्यामिक तहको २ हजार ५ सय ९८ शिक्षक पदका लागि ८८ हजार ५ सय १९ जना परीक्षार्थी परीक्षा आवेदन फारम भरेका थिए ।
सामान्य विषयको परीक्षामा जम्मा ७६ हजार ९ सय ६ परीक्षा सहभागी भएका थिए ।

सहभागीमध्ये २० हजार ९ सय ८२ जना मात्र उत्तीर्ण भएका छन् । कुल उत्तीर्णको संख्या हेर्दा निमाविमा २७–२८ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।नतिजाअनुसार प्रदेश नं १ मा ७ सय ७८ पदका लागि परीक्षा भएको थिो । सो प्रदेशमा १९ हजार २० जना सहभागीमध्ये ५ हजार १ सय ८२ उत्तीर्ण भएका छन् । मधेश प्रदेशमा १ सय ९३ पदमा १ हजार ११ उत्तीर्ण भएका छन् । सो प्रदेशबाट लिखित परीक्षामा ५ हजार ८ सय ५३ परीक्षार्थी सहभागी भएका थिए ।

वागमतीमा ४ सय ३३ पदका लागि ११ हजार ५ सय २६ जना सहभागी भएकोमा ३ हजार ५ सय ७७ उत्तीर्ण भएका छन् । त्यसै गरी, गण्डकी प्रदेशबाट १४ हजार २ सय ६ मध्ये ४ हजार ३ सय ४१ उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा ५ सय ४३ पदमा विज्ञापन खोलिएको थियो ।
त्यस्तै, लुम्बिनीमा २ सय ७८ पदको परीक्षामा ११ हजार ८ सय ४४ सहभागी भएका थिए भने ३ हजार ३ सय ६१ उत्तीर्ण भएका छन् ।

कर्णालीबाट ४ हजार ७ सय ८८ मध्ये १ हजार ६९ उत्तीर्ण भएका छन् । सो प्रदेशको कुल पद माग संख्या १ सय ५८ रहेको छ । त्यस्तै, सुदूरपश्चिमबाट लिखित परीक्षामा ९ हजार ६ सय ६९ सहभागी भएकोमा २ हजार ४ सय ४१ उत्तीर्ण भएका छन् । सो प्रदेशमा २ सय १५ पदमा आवेदन मागिएको थियो ।

प्रतिक्रिया दिनुहोस्