भक्तपुरमा निर्वाचन केन्द्रित सुरक्षा योजना बनाइँदै


काठमाडौं । 

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना तयार गर्दै १ हजार ५ सय सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

जिल्लाका चार नगरपालिकाका सबै मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालित हुने प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले बताउनुभयो ।

उहाँले आवश्यकतानुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन हुने र मतदान केन्द्रमा गलत गतिविधि भए तत्कालै नियन्त्रणमा लिन सक्ने गरी सुरक्षा टोली परिचालन हुने सुरक्षा संयन्त्र बनाइएको जानकारी दिनुभयो । उहाँले प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र अन्य दुई कर्मचारी खटाइने र आवश्यकता पर्दा थप कर्मचारी खटाउन तीन प्रतिशत कर्मचारीलाई जगेडामा राखिएको बताउनुभयो ।

मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई यही वैशाख २२ र २३ गते तालिम दिइने र यसपछि सामग्रीसहित खटाइने जानकारी दिँदै प्रजिअ शर्माले अनुसन्धानको टोलीबाट दलहरूको आचारसंहिता उल्लंघनलगायतका गतिविधिको सूक्ष्म अनुगमन भइरहेको बताउनुभयो ।जिल्लामा कुल ७७ मतदान स्थल र २ सय १९ मतदान केन्द्र छन् । जिल्लाका भक्तपुर नगरपालिकामा ५७ हजार २ सय ७०, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३ सय ६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८ सय ४२ र चाँगुनारायण नगरपालिकामा ४३ हजार १ सय ५ मतदाता छन् ।