काठमाडौं ।
आर्मेनियाको संसद्मा प्रस्तावित ‘यौन मन्त्रालय’ स्थापनाको विषयलाई लिएर सांसदहरूबीच भीषण झडप भएको छ। संसद्भित्रै सांसदहरूले एकअर्कामाथि मुक्का, लात र कुर्सी प्रहार गरेपछि बैठक अवरुद्ध भएको छ। घटनामा केही सांसद घाइते भएका छन् भने उनीहरूका कपडासमेत च्यातिएका छन्।
विपक्षी दल ‘स्ट्रङ आर्मेनिया पार्टी’ले देशमा ‘कोही पनि महिला यौन असन्तुष्ट नरहून्’ भन्ने उद्देश्यसहित नयाँ सरकारी मन्त्रालय स्थापना गर्ने प्रस्ताव अघि सारेपछि राजनीतिक विवाद सुरु भएको थियो। पार्टीले यौन असन्तुष्टिका कारण मध्यम उमेरका श्वेत महिलाहरूमा राजनीतिक सक्रियता बढेको दाबी गर्दै यस्तो मन्त्रालय आवश्यक रहेको तर्क गरेको थियो।
बिहीबार संसद् बैठकमा सत्तारूढ ‘सिभिल कन्ट्र्याक्ट पार्टी’का सांसद तारोन चाखोयानले उक्त प्रस्तावलाई लिएर विपक्षी दलको आलोचना गरेपछि विवादले उग्र रूप लिएको हो। उनले विपक्षी दल भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै प्रस्तावित मन्त्रालयका विषयमा विपक्षी नेता नारेक कारापेट्यानले महिलाहरूसँग माफी माग्नुपर्ने बताएका थिए।
चाखोयानले कारापेट्यानलाई लक्षित गर्दै ‘टाउकोदेखि गोडासम्म भद्रगोल’ रहेको टिप्पणी गरेपछि दुवै पक्षका सांसदबीच भनाभन सुरु भएको थियो। त्यसलगत्तै सांसदहरू आक्रामक हुँदै भाषण भइरहेको मञ्चतर्फ दौडिएका थिए।
संसद्भित्रै सुरु भएको हातहालाहालमा सांसदहरूले एकअर्कालाई मुक्का र लात्ती प्रहार गरेका थिए। संसद्का उपसभामुख तथा सत्तारूढ दलका सदस्य वाहाग्न अलेक्सान्यानले विपक्षी सांसदतर्फ कुर्सी प्रहार गरेका थिए भने चाखोयानले विपक्षी सांसद गार्निक दाभत्यानमाथि पानी छ्यापेका थिए। अन्य सांसदहरूले पानीका बोतल प्रहार गर्नुका साथै टेबलसमेत भत्काएका थिए।
घटनापछि प्रधानमन्त्री निकोल पाशिन्यानले पत्रकार सम्मेलन गर्दै हिंसाको विरोध गरे पनि आफ्नै पार्टीका सांसदहरूको कदमको समर्थन गरेका छन्।
‘म हिंसाको भर्त्सना गर्छु, तर आज सिभिल कन्ट्र्याक्ट संसदीय दलले चालेको कदमको समर्थन गर्छु। प्रतिपक्षमा हुनुको अर्थ उद्दण्ड बन्न पाउनु होइन,’ उनले भने।
प्रधानमन्त्री पाशिन्यानले सामाजिक सञ्जाल फेसबुकमार्फत विपक्षी दलको नाम ‘स्ट्रङ आर्मेनिया’ भए पनि त्यसका सांसदहरू शारीरिक रूपमा बलिया नरहेको भन्दै व्यंग्यसमेत गरेका छन्।
यसैबीच, झडपमा संलग्न सत्तारूढ दलका सांसद चाखोयानले विपक्षी सांसदहरूलाई गुण्डागर्दीको आरोप लगाउँदै सर्वसाधारणसँग माफी मागेका छन्। उनले विपक्षी सांसदहरूले झगडा सुरु गरेर कुटाइ नखाई संसद्बाट भागेको टिप्पणी गरेका छन्।
विपक्षी नेता कारापेट्यानले भने घटनालाई सामान्य आर्मेनियाली पुरुषबीच हुने झगडाको संज्ञा दिँदै आफ्नो पक्षको बचाउ गरेका छन्। उनले लामो समयदेखि आफूहरूलाई मानसिक तनाव दिइरहेका व्यक्तिहरूले जवाफ पाएको टिप्पणी गरेका छन्।
झडप सुरु भएपछि सभामुखले सुरुमा बैठक स्थगित नगर्ने र घटनालाई सबैले देख्न पाउनुपर्ने बताएका थिए। तर स्थिति नियन्त्रणबाहिर जान थालेपछि बैठक स्थगित गरिएको थियो। सांसदहरू घाइते अवस्थामा र च्यातिएका कपडासहित संसद् भवनबाट बाहिरिएका थिए।
घटनाबारे महान्यायाधिवक्ताको कार्यालयले स्थानीय सञ्चारमाध्यमलाई अहिलेसम्म कुनै आपराधिक कारबाहीबारे जानकारी नरहेको जनाएको छ।
अल्बानियाको संसद्मा पनि धुवाँ बम र विरोध प्रदर्शन
यसैबीच, बिहीबार नै युरोपेली मुलुक अल्बानियाको संसद्मा पनि विपक्षी सांसदहरूले धुवाँ फाल्ने बम विस्फोट गराउँदै मञ्च घेराउ गरेका छन्। सत्तापक्षले विवादित कानुनी संशोधन अघि बढाएपछि संसद्भित्र तनाव चुलिएको हो।
अल्बानियामा पछिल्ला केही महिनादेखि ‘फ्ल्यामिङ्गो आन्दोलन’का नाममा सरकारविरोधी प्रदर्शन हुँदै आएको छ। सुरुमा शान्तिपूर्ण रहेको आन्दोलन पछिल्ला साताहरूमा हिंसात्मक र अराजक बन्दै गएको छ।
विवादित रिसोर्ट परियोजनाको विरोधबाट सुरु भएको आन्दोलन अहिले भ्रष्टाचार र मुलुकको राजनीतिक संरचनाविरुद्ध केन्द्रित भएको छ। विपक्षी सांसदहरूले प्रधानमन्त्री एडी रामाको राजीनामा माग्दै प्रदर्शनकारीमाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएका छन्।
‘बैंक अफ अल्बानिया’ सम्बन्धी कानुन संशोधन सत्तारूढ सोसलिस्ट पार्टीले विपक्षीको विरोधका बाबजुद पारित गर्न खोजेपछि संसद्मा धुवाँ बम र नाराबाजीसहितको विरोध भएको थियो।
युरोपका दुई मुलुकका संसद्मा एकै दिन भएका यी घटनाले राजनीतिक ध्रुवीकरण, संसदीय मर्यादा र लोकतान्त्रिक संस्थाभित्र बढ्दो असहिष्णुतामाथि गम्भीर प्रश्न उठाएका छन्। संसद् जनताको आवाज उठाउने र राजनीतिक मतभेदलाई संवादमार्फत समाधान गर्ने थलो हुनुपर्नेमा त्यहीँ हिंसा प्रदर्शन हुनुले लोकतान्त्रिक अभ्यासमाथि चुनौती थपेको छ।











प्रतिक्रिया