हेटौंडा ।
हेटौंडा उपमहानगरपालिका मेयरमा उम्मेदवार राप्रपाका दीपकबहादुर सिंहले मेयरमा विजयी भए तलबभत्ता नलिने बताउनुभएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै उहाँले भ्रष्टाचार न्यूनीकरणमा जोड दिनुभएको थियो ।
‘मैले भ्रष्टाचार गर्न मेयरमा उम्मेदवारी दिएको होइन । र, यदि मैले मेयर जितेर १ लाख तलबभत्ता पाएँ भने खल्तीको २ लाख थपेर वडा–वडामा विकासका निम्ति रकम बाँड्नेछु ।’ –सिंहले भन्नुभयो । उहाँले आफू मेयरमा विजयी भए सरकारी गाडीसमेत नचढ्ने र सेवा–सुविधाबापत आएको तलबभत्तामा आफ्नो पैसा थपेर शिक्षा, स्वास्थ्य तथा विकासमा खर्च गर्ने बताउनुभयो । सिंहले नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको बताउनुभयो ।
वर्षौंदेखि हेटौंडामा एमालेलाई जनताले जिताएको तर एमालेले भ्रष्टाचारको अखडा बनाएको उहाँको आरोप छ ।एमालेले आफ्ना कार्यकर्तालाई भर्ती केन्द्र बनाउने र आसेपासेलाई आर्थिक लाभ गरेका काममात्र गरेको भन्दै आफू मेयर भए भ्रष्टाचार शून्य बनाइदिने सिंहको स्पष्टोक्ति छ । उहाँले आफूले जिते नगरको विकास गतिलाई तीव्र बनाएर महानगरको स्तरमा पु-याउने दाबी पनि गर्नुभयो ।
आफू विजय भए सेवा–सुविधायुक्त अस्पताल निर्माण गर्ने, घर–घरमा वृद्धभत्ता पु-याउने र हेटौंडालाई महानगर बनाउने सिंहले बताउनुभयो । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरमा पाँच दलीय गठबन्धन, नेकपा एमाले र राप्रपाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेसमा देखिएको दरारमा राप्रपा कांग्रेसकै मत तान्ने प्रयासमा छ । विशेष गरी हेटौंडा बजार क्षेत्रका कांग्रेसको मत पाउने उसको विश्वास छ । काठमाडौंमा व्यापार–व्यवसायमा संलग्न राप्रपा मेयर उम्मेदवार सिंह हेटौंडाका पुराना नेता हुनुहुन्छ ।
२०५४ को स्थानीय निर्वाचनमा तत्कालीन हेटौंडा नगरका मेयर र २०७० मा मकवानपुर–२ बाट संविधानसभा सदस्य लड्नुभएका उहाँ दुईवटै निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी हुनुभएको थियो । रिङरोड मेरै पालामा ट्रयाक खन्ने काम भएको हो । प्राविधिक शिक्षालय पनि मकवानपुर चिकित्सा गुठीबाट शुरु गरिएको थियो’, उहाँले भावी योजना सुनाउनुभयो– ‘हेटौंडा अस्पतालको विकासका लागि म लगानी ल्याउँछु, डाक्टर र विशेषज्ञ ल्याउँछु । वृद्धभत्ता घरदैलोमा पु-याउँछु । वृद्धालाई पनि बत्ती काट्ने काममा लगाएर आम्दानीमा सहभागी गराउनेछु ।’
‘मेयरसाब बनेर होइन, सेवक बनेर काम गर्छु । नगरपालिकाको गाडी प्रयोग गर्दिनँ। कुनै सुविधा लिन्नँ। विकास भनेको के हो देखाउँछु । नक्कापास गर्न पनि घूस खाने प्रवित्ति हटाउँछु । ४ वर्षभित्र उपमहानगरलाई महानगर बनाउनेछु’, सिंहले थप भन्नुभयो–‘करकटौती गर्छु, पक्षपात गर्दिनँ। भ्रष्टाचार हुन दिइने छैन, सामान्य जनताको काम हुँदैन, कार्यकर्ताको मात्र काम हुन्छ भन्ने आरोप चिर्नेछु । पालिकाका हरेक क्रियाकलाप सार्वजनिक गर्र्नेछु ।’
आफ्नो उम्मेदवारी ढिलो भएका कारण केन्द्रीय कमिटीले विवाद मिलाउन आफूलाई उठ्न निर्देशन दिएको र मकवानपुरे जनताले पनि उठ्न आग्रह गरेकाले अचानक उम्मेदवारी दिनुपरेको उहाँले स्पष्ट पार्नुभयो । प्रदेश सांसदको निर्वाचनपछि हेटौंडा नआएको पत्रकारको प्रश्नमा उहाँले आफ्नो परिवारको उपचारका क्रममा भारतलगायत जानुपरेकाले हेटौंडामा उपस्थिति कम भएको स्वीकार गर्नुभयो ।











प्रतिक्रिया