मन जित्नमकै गोड्दै, भाँडा माझ्दै उम्मेदवार



पर्वत ।

चुनावको प्रचारप्रसारमा रहेको फलेवास नगरपालिका ३, शँकरपोखरीमा गठबन्धनबाट वडाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ अर्जुनबहादुर केसी ।

निर्वाचनको मिति नजिकिँदै जाँदा वडावासी सबैको घर–घरमा डुलिरहनुभएका उहाँ कृषकहरूले मकै गोडिरहेको ठाउँमा पुग्नुभयो । केसीले किसानले चलाइरहेको कोदाली माग्नुभयो, कोट पाइन्टमा सजिएका उहाँले धूलो उडाउँदै मकै खन्न कुनै अप्ठ्यारो मान्नुभएन । थोरै बेर भए पनि मकै गोडनुभएका उहाँले आफूलाई वडाध्यक्षमा जिताउन अनुरोध गर्नुभयो ।

‘मैले मकै गोडेर मेलो हुने कुरा होइन, तर म जनता खेतमा हुँदा खेतमै र घरमा हुँदा घरमै छु भन्ने सन्देश यसबाट मिल्छ। पाँच वर्षको अवधिमा मैले गरेको कार्यसम्पादन नागरिकले देख्नुभएको छ,’ केसीले भन्नुभयो–वडाध्यक्षको रूपमा गएको कार्यकाल पूरा गर्दा म नागरिकले गर्ने यस्तै साना–साना कामहरूमा, पर्दा र मर्दा सम्भवभएका ठाउँमा पुगेको छु। हाम्रो काम पनि आखिर यही त हो नि ।सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट गणेश शर्मा पौडेल उम्मेदवार हुनुहुन्छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयीभएको कुश्मामा गठबन्धनबाट फेरि पनि जोशी नै नगर प्रमुख पदका उम्मेदवार बन्नुभएको छ। काँग्रेसका साख भत्काउनकालागि सहज महसुस नगरेको एमालेले मतदाता रिझाउनकालागि घरदैलो अभियान चलाइरहेको छ ।

सोही क्रममा कुश्मा नगरपालिका–११ पकुवामा पुगेका प्रमुख पदका उम्मेदवार पौडेल, उपप्रमुख पदकी उम्मेदवार स्वस्थानी रिजाल र ११ नँ. वडाका वडाध्यक्ष पदका उम्मेदवार बाबुराम पौडेलले आफूले खाना खाँदा प्रयोगभएका भाँडा आफैले सफा गर्नुभयो । जनताको घर आँगनमा पुगेको बेलामा उदाहरणीय बनेर देखाउँदै नागरिकलाई आकर्षित गर्ने यो पनि एउटा तरिका हो ।काँग्रेसका कार्कीले मकै गोड्दा होस वा एमालेका पौडेलले भाँडा सफा गर्दा नै किन नहोस् एकै छिन भए पनि नेताहरू आफूजस्तै बनिदिँदा उनीहरूको सारथीभएको महसुस हुने केही नागरिक बताउँछन् ।

उनीहरूको काम मकै गोड्ने भाँडा माझ्ने नभएको भए पनि उदाहरणका रूपमा प्रस्तुत गरेर देखाउनुको अर्थ आफूहरू जनताको साथमा छौँ भनेको हुने फलेवास नगरपालिका–३,शंकरपोखरीकै वडा सदस्य पदकी उम्मेदवार निर्मलाकुमारी शर्मा बताउनुहुन्छ ।‘जनप्रतिनिधि जनताको कामकै लागि चुनिने हो। घरदैलोमा गएको बेलामा जनताले गर्न लागेको काममा एकैछिन भए पनि सघाइ लाग्नुको अर्थ हामी पनि नागरिकको साथमा छौँ भन्नु हो,’ उहाँले भन्नुभयो–‘जनप्रतिनिधि नभएको अवस्थामा देश चलेको बेलामा काम गर्न कठिन थियो। गाविस सचिवलाई फेला पार्नै मुस्किल, तर अहिले जनताका काम सहजैभएका छन् ।’

केही उम्मेदवारहरूले चुनावलाई लक्षित गरेर गरेका यस्ता कामहरूको प्रमाण सामाजिक सञ्जालहरूमा राखिने गरेका भए पनि सबै उम्मेदवारहरूका यस्ता क्रियाकलाप बाहिर आउँदैनन्। विजयी बन्नका लागि हदैसम्म गर्ने उम्मेदवारहरूले आलोचना खेप्नुपर्ने डरले चुनावी प्रचारमा प्रयोग गरेका सबै हतकण्डाहरू बाहिर ल्याउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्