माथेमालाई विशिष्ट जापानी सम्मान


काठमाडौं । 

जापानले विदेशी नागरिकलाई प्रदान गर्ने विशिष्ट राष्ट्रिय सम्मान ‘द अर्डर अफ द राइजिङ सन’को उपाधि कूटनीतिज्ञ केदारभक्त माथेमालाई प्रदान गरेको छ ।

२०५३ सालदेखि ६ वर्षसम्म जापानका लागि नेपाली राजदूत रहेका माथेमाले ‘नेपाल–जापान द्विपक्षीय सम्बन्धको आयाम बढाउनमा उल्लेख्य योगदान गरेको’ भन्दै सो सम्मान प्रदान गरेको हो । काठमाडौंस्थित जापानी दूताबासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार द्विपक्षीय राजनीतिक भ्रमणसहितका गतिविधि विस्तार गर्नमा माथेमाको कार्यकाल विशेष रहेको थियो ।

माथेमाकै पालामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापानको र जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपालको भ्रमण गर्नुभएको थियो । माथेमाकै कार्यकालमा जापानको फुकुओका सहरमा नेपालको अवैतनिक वाणिज्यदूताबास स्थापना भएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षा आयोगहरूको नेतृत्वमा रहेर सेवा गरिसकेका माथेमा सम्मान पाएपछि भन्नुहुन्छ – ‘जापानले यो विशिष्ट राजकीय सम्मान मलाई प्रदान गरेकोमा म जापान सरकार र जापानी जनताप्रति कृतज्ञ छु, नेपाल–जापानबीच रहिआएको विशिष्ट र सुमधुर सम्बन्धको आयामलाई थप विस्तार गर्न द्विपक्षीय राजनीतिक, आर्थिक, शैक्षिक तथा अन्य तहका आदानप्रदानमा निरन्तरता रहन सक्नुपर्छ ।’ जापानले यस्तो विशिष्ट सम्मान हरेक वर्ष अप्रिल २९ र नोभेम्भर ३ का दिन प्रदान गर्दै आएको छ ।