दानबहादुर कार्कीको रिट तिहारपछि मात्रै सुनुवाइ हुने, बिहीबार पनि भएन दर्ता


काठमाडौं ।

आफूलाई गैरकानुनी रूपमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गर्न खोजेको रिट निवेदनको सुनुवाइ तिहारपछि मात्रै हुने भएको छ ।

कार्कीले बिहीबार सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता हुन सकेन । सर्वोच्च अदालतका कर्मचारीहरूले उनका कानुन व्यवसायीलाई निवेदन अध्ययनकै क्रममा रहेकाले बिहीबार दर्ता गर्न नसकिएको जानकारी गराएका छन् ।

निवेदन दर्ता हुन नसकेपछि कार्कीको रिटमाथि तत्काल सुनुवाइ हुने सम्भावना टरेको छ । अब अदालतको नियमित कामकारबाही र निवेदन दर्ता प्रक्रियाअनुसार तिहारपछि मात्रै रिट दर्ता तथा सुनुवाइको प्रक्रिया अघि बढ्ने देखिएको छ ।

सरकारले आफूलाई कानुनविपरीत आईजीपी पदबाट हटाएको दाबी गर्दै कार्की न्यायिक उपचारको खोजीमा सर्वोच्च पुगेका हुन् । उनको रिट दर्ता भएपछि मात्रै सरकारको निर्णयविरुद्ध उनले उठाएका कानुनी प्रश्नमाथि अदालतमा सुनुवाइको बाटो खुल्नेछ ।

यस प्रकरणलाई नेपाल प्रहरीको नेतृत्व परिवर्तन र सरकारी निर्णयको वैधानिकतासँग जोडेर हेरिएको छ ।