काठमाडौं।
एनआईसी एशिया क्यापिटल लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको थियो। बाढीका कारण सडक, पुल, बस्ती, बजार तथा जलविद्युत् आयोजनालगायतका संरचनामा क्षति पुगेको थियो।
विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरेको जनाएको छ।
कम्पनीले बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको योगदानको प्रशंसा गरेको छ।
एनआईसी एशिया क्यापिटलले स्थापनाकालदेखि नै व्यावसायिक गतिविधिसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। कम्पनीले विद्यार्थी तथा देशका विभिन्न भूभागमा बसोबास गर्ने नागरिकलाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको यस आर्थिक सहयोगलाई कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको पहलका रूपमा लिइएको छ।











प्रतिक्रिया