पर्यटकहरुलाई ठग्ने कार्य रोकियोस्



पछिल्लो समय पर्यटकीय सिजन शुरु भएको छ । केही सातायता पर्यटकको चाप ह्वात्तै बढेको छ । विभिन्न मुलुकका पर्यटकहरु नेपाल घुम्न आउने क्रम शुरु भएपछि पर्यटकीय क्षेत्र चलायमान भएको छ । यता, सरकारलाई पनि पर्यटक आँउदा निकै फाइदा हुन्छ । किनकि उसले नेपाल आउँदा कर तिर्छ । विदेशी पर्यटक नेपाल घुम्न आएनन् भने अर्थतन्त्रलाई ठूलो धक्का पर्छ ।

डलर भित्रिने एकमात्र प्रमुख स्रोत भनेको पर्यटक हो । कोरोनाका कारण विगत दुई वर्षदेखि पर्यटकीय क्षेत्र ठप्पजस्तै बनेको थियो । हालै मात्र पर्यटकहरुको आगमन शुरु भएको हो । विदेशी पर्यटकहरु नेपाल घुक्न आउँदा विदेशी मुद्रा सञ्चितिमा निकै असर देखियो । त्यस्तै, तरलता पनि स्वाट्टै बढ्यो । महँगीले पनि नेपालीको ढाड सेकेको छ । व्यापार घाटा बढ्दो छ । मुलुकको अर्थतन्त्रलाई यथावत् राख्ने एउटै मात्र उत्तम उपाय भनेको विदेशी पर्यटकलाई जति सक्दो नेपाल ल्याउनु हो । जतिपटक नेपाल घुम्न आउँछन्, राज्यलाई उत्ति नै फाइदा हुन्छ ।
तर, राज्यले अनुगमन नगर्दा विदेशी पर्यटकहरु ठगिएका छन् ।

जुनसुकै क्षेत्रबाट विदेशी नागरिकहरु ठगिएका छन् । होटल व्यवसायी र यातायात व्यवसायीले उनीहरुलाई सक्दो लुटिरहेका छन् । एकसय रुपियाँ पर्ने मालालाई ५ सयमा बेचिरहेका छन् पसले । होटल व्यवसायीले ३ सय पर्ने खानालाई हजार रुपियाँ ठोक्छन् । नेपालीले ५ सय रुपियाँ भाडा तिर्ने उही बाटोमा १५ सय तिर्न बाध्य छन् विदेशी नागरिक । एयरपोर्टमा ओर्लिनेबित्तिकै उसको ठगिने क्रम शुरु हुन्छ । एयरपोर्टमा हरियो प्लेटको ट्याक्सी सक्दो ठग्छ । एयरपोर्टभित्र सञ्चालन भएका पसलहरुले पनि त्यस्तै गर्छन् । ट्याक्सी चालकले पनि जुनचाहिँ होटलले कमिसन दिन्छ उही होटलमा लगेर राखिदिन्छन् । विदेशीलाई ठग्दा केही सीमित व्यक्तिलाई फाइदा भएको होला तर राज्यको साखमाथि दाग लागेको छ । यहाँबाट ठगिएर गएका विदेशी पाहुनाहरुले आफ्नो मुलुकमा गएर नेपालको चर्चा–परिचर्चा गरिहाल्छन् ।

आफू ठगिएको कुरा आफ्ना मुलुकवासीलाई अवश्य पनि सुनाउँछन् । जसको कारण उक्त देशका पाहुनाहरु नेपाल नआउन सक्छन् । यसबाट घाटा त राज्यलाई भयो । हामीहरु ‘अतिथि देवो भव’ भन्छौं तर सकेसम्म उनीहरुलाई नै ठग्छौं । केही पहिलेको कुरा हो, ठमेलको एउटा होटलको छतबाट खसेर एकजना विदेशीको निधन भयो । त्यसै गरी, ट्रेकिङ गर्न जाँदा, विभिन्न ठाउँमा घुम्न जाँदा उनीहरुको अकालमा ज्यान गएको घटना थुप्रै छन् । विदेशी नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा पर्यटकको आगमनमा कमी आउने देखिन्छ । जुनै पनि विदेशी नागरिकको जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ । चर्को शुल्क तिरेर मर्नका लागि विदेशीहरु नेपाल आएका हुन् ? यस विषयमा सरकारले विचार पु-याउनुपर्दैन ? सरकारले अभिभावकको दायित्व निभाउनुपर्दैन ? पर्यटकहरुको ज्यान र धनको सुनिश्चिचता गर्नु सरकारको कर्तव्य हो । सरकारी पक्ष लापरवाह हुँदा नेपालमा विदेशी नागरिक नै आउन ठप्प हुने अवस्था बन्न सक्छ ।

बाटोमा पर्यटकहरुको सामान चोरी हुँदा पनि सरकार के हेरेर बसिरहेको छ ? व्यापारीहरुले मनलाग्दी पैसा लिएर उनीहरुलाई ठग्दा सरकार कहाँ छ ? व्यापारीहरुले अहिले जतिसक्दो ठगिरहेका छन्, भोलि यसको परिणाम अवश्य पनि देख्नेछन् । विदेशी नआउँदा व्यवसायीहरुलाई पनि उत्तिकै घाटा छ । राज्यलाई त राजस्व नआउँदा पनि व्यापार व्यवसाय पनि ठप्प हुन्छ । पर्यटक नै आएपछि कसलाई सामान बेच्ने ? अहिले विदेशीहरु पाइलापिच्छे ठगिएका छन् । यसलाई बन्द गरौ । विदेशीलाई यसरी नै ठग्ने हो भने यसको प्रतिफल व्यापारी आफैँले भोग्नुपर्छ । सरकारले पनि व्यवसायीहरुलाई ठग्न छुट दिने हो भने नेपालको अवस्था जटिल बन्दै जान्छ । होटल व्यवसायीले लिइरहेको मनलाग्दी रेटमा सरकारले रोक लगाउनुपर्छ ।

यता, टुर एन्ड ट्राभल्स कम्पनीहरु पनि सरकारकै निगरानीमा चल्नुपर्छ । सम्बन्धित निकायले खाने, लाउने, चढ्ने सबै कुराहरुको मूल्य निर्धारण गरिदिनुपर्ने देखिन्छ । पाहुनालाई कस्तो व्यवहार गर्नुपर्छ ? यो सबै नेपालीलाई थाहा छ ।पाहुना भन्नेबित्तिकै हामी आफू नखाएर पनि उनीहरुलाई खुवाउँछौं । आफू भुइँमा सुतेर उनीहरुलाई ओछ्यानमा सुताउँछौं । तर, विदेशीको हकमा किन समान व्यवहार गरिँदैन ? सरकारले पुराना ऐन–कानुन संशोधन गरेर विदेशीलाई सक्दो सेवा–सुविधा दिनुपर्छ । जसरी हुन्छ बढीभन्दा बढी पर्यटक नेपाल आउने वातावरण बनाउनुपर्छ । पर्यटकहरु हाम्रा निम्ति भगवान्सरह हुन् । उनीहरु आएनन् भने मुलुकको अर्थतन्त्र तहसनहस हुन्छ भनेर सबैले सोच्नुपर्छ ।

होटल व्यवसायीले विदेशी नआउँदा हामीलाई घाटा भयो भनेर पटक–पटक सरकारलाई दबाब दिन्छन् । तर, आएको विदेशीलाई राम्रो व्यवहार गर्नुप¥यो, ठग्न छोड्नुप¥यो । एकचोटि नेपाल आइसकेका पर्यटक दोस्रोपटक नेपाल घुम्न आउन चाहँदैनन् । किनकि सबै व्यवसायीबाट उनीहरु आजित भइरहेका हुन्छन् । होटल व्यवसायीहरु सरकारको ऐन–कानुन पनि नमान्ने, आफूखुशी मनलाग्दी रेट राख्ने । राम्रो सेवा–सुविधा नदिने तर शुल्क भने चर्को लिने । पाइलैपिच्छे ठगिने मुलुकमा को घुम्न आउन चाहन्छ ? केही वर्षयता होटेलमा लगानी ह्वात्तै बढेको छ । विज्ञापन गरेर पाहुना बोलाउँछन् । तर, विज्ञापन दिएको रेटसमेत पाहुनाबाट असुल्छन् । अनि त्यस्तो ठाउँमा दोहो¥याएर को जान्छ ? होटेल व्यवसायीको नियत र चर्तिकला सबैले बुझिसकेका छन् । अझ, रात्रिकालीन व्यवसायीहरुले विदेशीलाई ठग्नु ठगेका छन्, नेपालीहरुलाई लुट्नु लुटेका छन् । दोहोरी साँझ, डान्स बार र रेस्टुरेन्टले स्वदेशी र विदेशी दुवैलाई मुर्गा बनाएका छन् । बाहिर ५ सय पर्ने सामान १५ सयसम्ममा बेच्छन् ।

पाँचतारेदेखि लिएर एउटा खाजाघरले समेत आम नागरिकलाई ठगिरहेका छन् । मनलाग्दी पैसा लिएर लुट्न सरकारले छुट दिएको छ । न सरकारले होटलहरुको वर्गीकरण गर्छ, न खानेकुराको शुल्क नै निर्धारण । खाजाघरहरुले दर्ता नगरीकन पसल सञ्चालन गर्छन् । ठूल्ठूला पाँचतारे होटलहरुले राज्यलाई कर तिर्दैनन् । दुईतिरबाट राज्य राजस्वविहीन छ । राज्य असफल, आम नागरिक बाध्य । लज भाडाबाट पनि सबैजना ठगिएका छन् । ५ सयदेखि ५ हजार रुपियाँ तोकिएको छ । तर, त्यो महँगो हो कि सस्तो, सरकार र तिर्ने मान्छे दुवै अनभिज्ञ छन् । शुल्क भने यत्रो तिर्नुपर्छ तर सेवा–सुविधा भने गएगुज्रिएको छ । खाना पकाउने ठाँउ कस्तो छ ? सफासुग्घर कतिको छ ? सरकारले आजसम्म पनि अनुगमन गरेको छैन ।

स्वास्थ्यलाई हानि पु-याउने गरी फोहोरी ठाउँमा खाना पकाउँदा पनि सरकारी पक्ष चुइँक्क बोल्दैन । पछिल्लो समय आन्तरिक पर्यटक बढ्दो छ । आफ्नै मुलुकको विभिन्न जिल्ला घुम्न जाने क्रम बढ्दो छ । कामविशेषले पनि एक जिल्लाबाट अर्को जिल्ला जाने गरिन्छ । त्यस्तो अवस्थामा बस्ने र खाने ठाउँ त होटल नै हो । होटलमा अंग्रेजीमा राखिएको मेन्युले पनि कतिपय ग्राहकलाई समस्यामा पारेको छ । अंग्रेजी नबुझैकै कारण उनीहरुले धेरै सास्ती खेप्नुपरेको छ ।

मेन्यु अंग्रेजी र नेपाली दुवै भाषामा राखिएको हुनुपर्छ । विदेशी मात्र होइनन्, स्वदेशी पर्यटक पनि विभिन्न व्यवसायीबाट ठगिएका छन् । नयाँ ठाउँ सबैका लागि नौलो हुन्छ । त्यहाँको परिवेश बुझ्न विदेशीलाई मात्र होइन, स्वदेशीलाई पनि गाह्रो पर्छ । जसका कारण स्वदेशी र विदेशी पर्यटक दुवै ठगिएका छन् । पर्यटकको खाँचो कति हुँदो रहेछ श्रीलंकाबाट सिकौं । अहिले श्रीलंकाले विदेशी पाहुना तान्नका लागि विभिन्न उपाय ल्याएको छ । अर्थतन्त्रमा धक्का पुग्ने भएपछि अस्ट्रेलियाले पनि सबै मुलुकका विद्यार्थी धमाधम भित्र्यायो । तर, नेपालले आएका पर्यटकहरुलाई लखेट्ने काम भइरहेको छ । यसको क्षति सबैले बेहोर्नुपर्नेछ । त्यसैले सरकारले बेलैमा सोचविचार गरेर पर्यटक भित्र्याउन विभिन्न योजना बनाउनुपर्छ ।

– अनुसा, भक्तपुर 

प्रतिक्रिया दिनुहोस्