महोत्सवमा रमेशराजको बबाल



अनिल खत्री, गुल्मी  ।

चौथो गुल्मी महोत्सवको रमाइलो माहोल। महोत्सवले सिंगारिएको तम्घासको चिदिचौर। चौरभरि स्टल र महोत्सव अवलोकन गर्न आएका हजारौं दर्शक। महोत्सवमा देश- विदेशमा ख्यातिप्राप्त चर्चित लोक तथा दोहोरी गायक रमेशराज भट्टराई, राधिका हमाल, कसुल बेल्वासे, सन्तोष केसी, उज्ज्वल गिरी, कुसुम परियार, समीक्षा बिसीलगायतका कलाकारको सानदार प्रस्तुति।

यस्तो माहोलका बीच महोत्सवमा दर्शकको निकै चहलपहल थियो। कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको चौथो गुल्मी महोत्सवअन्र्तगतको सांस्कृतिक कार्यक्रममा गायक रमेशराज भट्टराईले तहल्का मचाए।गायक रमेशराज भट्टराई जब आफ्नो सांस्कृतिक प्रस्तुति दिन महोत्सवको मञ्चमा उक्लिए, सांस्कृतिक कार्यक्रम हेर्न आएका दर्शकले ठुलो स्वरमा हुटिङ गर्दै शुरुमै उनको बहुचर्चित गीत बहुला गाउन आग्रह गरे। तर, उनले खुट्टा भए गीत सुनाए। मञ्चनजिकै पुगेका दर्शकको मन थामिएन। नाच्नलाई उनको नजिकै जान खोजे। दर्शक उनकै प्रस्तुति हेर्न कार्यक्रमको अन्तिम प्रहरसम्म कार्यक्रमस्थलमा बसे। कार्यक्रममा उनको प्रस्तुति अन्तिम चरणमा थियो। त्यसैले पनि दर्शकको रोजाइमा थिए उनी।

कार्यक्रमको उनले नथियावाली बोलको गीत गाए। दर्शकको हुटिध्र बढ्यो। हुटिध्र बढेसँगे रमेशराज दर्शक भए ठाउँमै पुगे र गीत गाए। उनले आफ्नो अर्को सुपरहिट गीत तिमी लास्टै ब्युटी छौ पनि गाए। दर्शकले भने लगातार उनलाई साथ दिइरहे। दर्शकले उनीसँगसँगै गीत गाएर लगातार साथ दिइरहेका। उनको प्रस्तुतिले तम्घासको चिदिचौर झनै रमाइलो बन्न पुग्यो। उनले अर्को हिट गीत बबाल भो थपे, दर्शक झनै रमाए। दर्शकले उनलाई समाएरै सँगसँगै गीत गाए। त्यही मौकामा धेरैले टिकटक बनाए। उनले पनि दर्शकको मोबाइलबाटै टिकटक बनाइदिए।

कार्यक्रमको अन्तिम चरणमा उनले आफ्नो सुपरहिट गीत बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई गाएर दर्शक स्रोताको चाहना पूरा गरे। दर्शकले गीतको सबै अंश गाएर उनलाई साथ दिए। गीत सकियो, तर दर्शकको मन मानेन। वन्स मोरमाथि वन्स मोरको हुटिङ भइरहेपछि उनले सो गीत दोहो-याएर नगाई सुखै पाएनन्।लोक विधाका गीत गाउन उत्तिकै सिपालु रमेशराज लोक विधासँगै उनलाई सुगम संगीतमा पनि लोकप्रिय गायक तथा संगीतकारका रुपमा परिचित छन्।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास भन्ने नाराका साथ शुरु भएको महोत्सव हालै सम्पन्न भएको छ। महोत्सवमा बद्री पंगेनी, अञ्जली अधिकारी, खेम सेन्चुरी, सुशिला गौतम, सिलु भटराई, अर्जुन कुँवर, तिलक बस्नेत, अस्मी परियारलगायतले पनि विभिन्न प्रस्तुति पस्केर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्