पूजा आकाशको स्वर्गकी अप्सरा



नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत मोहक म्युजिक भिडियो सार्वजनिक भएको छ।स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दीपिका म्युजिक युट्युबमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा पूजा आकाशको स्वर्गकी परीका रुपमा प्रस्तुत भएकी छन्।

नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन्। ठूलो पर्दाको फिल्मसँगसँगै म्युजिक भिडियोमा समेत रुचाइँदै आएका आकाश र पूजाको केमेस्टझी यो गीतको म्युजिक भिडियोमा जमेको छ।

उनीहरु गीतको भिडियोम रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।पछिल्लो समयमा कुशल म्युजिक भिडियो निर्देशकका रुपमा समेत छाउँदै आएका कविराजले भिडियोलाई फिल्मी शैलीले तयार पारेका छन्। फिल्मी गीतको भिडियोदेखि म्युजिक भिडियोसम्ममा सधैं आकर्षक लोकेशन पस्केर दर्शकलाई मोहित तुल्याँदै आएका कविराजले यसको भिडियोमा समेत त्यसलाई निरन्तरता दिएका छन्।

आकाश र पूजाले यो गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको तथा यसलाई लिएर आफूहरु उत्साहित भएको बताए। निर्देशक कविराज गहतराजले आकाश र पूजाको समय मिलाएर भिडियो निर्माण गर्न तीन महिना लामो समय प्रतीक्षा गरेको र अन्ततः प्रतीक्षाको फल मिठो निस्केको बताए।

दीपक कँडेलद्वारा लिखित गीत सुगम पोखरेल र अञ्जु पन्तले गाएका छन् भने दीपक वसन्त कार्कीले संगीत भरेका छन्। प्रेममा रहेका मायालु जोडीले एक अर्कालाई गर्ने माया तथा त्यस क्रममा गर्ने बयानका मिठा र रोमान्टिक शब्दले भरिएका गीत दीपिका म्युजिकद्वारा प्रस्तुत गरिएको हो। मिठासपूर्ण गीतमा संगीत संयोजन सुदीप सागरको रहेको छ। सौरभ लामाको छायांकन निर्देशन रहेको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरेका छन्। भिडियो गीतकार दीपक कंडेलेको निर्माणमा र प्रस्तुतिमा तयार भएको छ।

प्रतिक्रिया दिनुहोस्