रेसुङ्गामा एमालेको नगर प्रमुखको उम्मेदवार पाण्डेय



गुल्मी ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा नेकपा एमालले राजेन्द्रप्रसाद पाण्डेयलाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

मंगलबार तम्घासमा बसेको एमाले रेसुङ्गा नगर कमिटीको बैठकले सर्वसम्मत रूपमा पाण्डेयलाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गरेको नेकपा एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो ।२०३५ सालबाट विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका पाण्डेय नेकपा एमाले गुल्मी जिल्ला कमिटी सदस्य हुन् । निजामति कर्मचारी संगठनको केन्द्रीय प्रतिनिधि रहेका पाण्डेय इन्जिनियर हुन् ।

उपप्रमुख पदमा भने नाम सिफारिस भएको छैन । त्यसका लागि छलफल भइरहेको अध्यक्ष पोखरेलले बताउनुभयो । रेसुङ्गा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालले नगरप्रमुख र उपप्रमुख पदमा निर्वाचित भएको थियो । नगरमा तीन पार्टी छुट्टाछुट्टै निर्वाचनमा गएका थिए ।रेसुङ्गा नगरमा अन्य पार्टीले भने उम्मेदवार छनोट गरेका छैनन् । हालसम्म मुसिकोट नगरपालिकामा नेकपा एमालले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले हरिनारायण सापकोटालाई उम्मेदवार बनाएको छ । मुसिकोट नगरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए । दुवै दलबाट उपप्रमुख पदमा उम्मेदवार बनेका छैनन् ।

त्यस्तै, धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसमेत रहेका भूपाल पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उहाँ दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नुभएको हो । यस गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गर्दा माओवादी केन्द्रबाट भूपाल पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै, मालिका गाउँपालिकामा सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलबीच तालमेल गरेर उम्मेदवार छनोट गरेका छन् । गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट देवीराम अर्याललाई उम्मेदवार बनाएको छ ।यो पालिकामा ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचित भएको थियो । अन्य पालिकामा भने सत्ता गठबन्धनका दलहरु बीच तालमेल भएको छैन । उम्मेदवार पनि छनोट गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्