तथ्यांक राज्यको अमूल्य सम्पत्ति



अहिले मुलुकभर स्वास्थ्यसम्बन्धी अध्ययन तथा अनुसन्धान भइरहेको छ । विभिन्न स्वास्थ्य अनुसन्धान कार्यालयहरुबाट खटिएका अनुसन्धानकर्ताहरु गाउँगाउँमा छन् । यसअघि सबै स्वास्थ्यकर्मी कोभिडको जोखिम मोलेरै पनि दैनिक घरदैलो तथा स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यसम्बन्धी तथ्यांक संकलनमा जुटेका थिए । अध्ययन–अनुसन्धानमा खटिरहेका थिए ।

सरकारले स्वास्थ्य क्षेत्रमा प्रभावकारी ढंगबाट काम गर्न नसक्नुका विभिन्न कारणहरुमध्ये मुख्यतया तथ्यांक तथा अध्ययन–अनुसन्धानको अभाव पनि एक हो । सही तथ्यांक संकलन गर्न सकेमा यसले राज्यको बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यसका साथै सही अनुसन्धानले उचित समयमा ऐन कानुन बनाउन मद्दत गरी समाजको सकारात्मक परिवर्तनमा भूमिका खेल्दछ । पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनदेखि दुर्गममा स्वास्थ्य उपचार सुदृढ बनाउन मद्दत गर्दछ ।

यस्तो महत्व बोकेको अध्ययन–अनुसन्धान गर्ने जनशक्तिप्रति केही व्यक्तिको सोच्ने तरिका भने फरक पाएँ । अनुसन्धानको महत्व बुझ्ने समुदाय पनि छ, तर एक जमात चाहे त्यो शहर होस् या गाउँ, अनुसन्धान विदेशी भत्ता सक्काउने माध्यम मात्र भएको ठान्छन् । अनुसन्धानले स्वास्थ्य प्रणाली सुधारमा भूमिका खेल्दैन भन्ने सोच राख्ने समुदाय हाबी देखेँ । यसले गर्दा सही तथ्यांक संकलन नहुने र नतिजा फरक आउने सम्भावना बढ्छ । त्यसैले अनुसन्धानको महत्व र यसले भविष्यमा मानव स्वास्थ्यमा के सहजता ल्याउँछ भन्नेबारे सबैले जान्न जरुरी छ । अध्ययन–अनुसन्धानले एकै दिनमा सर्वसाधारणलाई सुविधा दिने होइन, यसपछाडि हुने गहन अध्ययनपछि बन्ने नीति नियमले मात्र समुदायमा यसको प्रभाव देखिने हो ।

विश्वमै कोभिड महामारीसँगै स्वास्थ्य अनुसन्धानको महत्व अझ बढेको छ । यस महामारीमा हरेक दिन नयाँ–नयाँ सूचनाहरु आइरहन्छन् । खोप र यसको असरबारेमा पनि धेरै नयाँ तथ्यहरु आइरहन्छन्, जुन जनस्वास्थ्यमा सीधै असर गर्ने विषय हो । त्यसैले अहिलेको अवस्थामा अध्ययन–अनुसन्धान अत्यन्तै आवश्यक छ । तसर्थ, स्वास्थ्य अनुसन्धान भत्ता पचाउने माध्यम मात्र होइन । तथ्यांक राज्यको अमूल्य सम्पत्ति हो । यसप्रति पनि सबैको ध्यान जाओस् ।
सृजना डंगोल (जनस्वास्थ्यकर्मी) ठेचो, ललितपुर

प्रतिक्रिया दिनुहोस्