नेपाली गजलकार माझ भारतका दिलदार देहल्वीकोे साँझ


राजधानीको कान्तिपथस्थित होटल यलो पेगोडामा आइतवार साँझ साहित्य, संगीत र गजलप्रेमीहरूको विशेष जमघट देखियो।
भारतीय गजलकार दिलदार देहल्वी (राजेन्द्रसिंह अरोरा) को सम्मानमा आयोजित दिलदार देहल्वी साँझ नेपाली गजलकार माझ नाम दिएको कार्यक्रमले नेपाली र हिन्दी गजलका पारखीहरूलाई एकै थलोमा उभ्यायो।

गजल महफिलमा दिलदार देहल्वीले आफ्ना हिन्दी गजलहरू प्रस्तुत गर्दा हलभरि ताली र क्या बात हैका आवाज गुञ्जिएका थिए। गजलको मिठासमा रमाएका श्रोताले प्रत्येक प्रस्तुति उत्साहपूर्वक ग्रहण गरे। गजलकार शान्ति शर्माले नेपाली गीति गजल गुञ्जाइन् भने रूपक बनवासीले आफ्नै शैलीमा गफ मिश्रित गजल प्रस्तुत गरे। जय गौडेलले नेपाली शेर र गजल सुनाए। विटु केसीले पनि आफ्ना सिर्जनामार्फत श्रोताको ध्यान आकर्षित गरे।

गजलकार घनेन्द्र ओझाले नेपाली गजलको वर्तमान अवस्थाबारे चर्चा गर्दै आफ्ना गजलहरू सुनाए। इम्तियाज वफाले हिन्दी गजल प्रस्तुत गरे भने रवि प्राञ्जलले देशप्रेमले ओतप्रोत गजलका साथै प्रेमिल गीति गजल गुनगुनाए। करुण थापाले सामाजिक यथार्थ, वियोग र व्यंग्यका विषय समेटिएका गजल प्रस्तुत गरे।


कार्यक्रमका प्रमुख अतिथि गीतकार, कवि तथा उद्योगपति वसन्त चौधरीले पनि हिन्दी रचनाहरू गुनगुनाउँदै माहोललाई थप रसमय बनाए। कार्यक्रममा प्रस्तुत वाह वाह, क्या बात, लाजबाब, बहुत खुबजस्ता प्रतिक्रियाले मेहेफिललाई मजबुत र रोचक बनाएको थियो।

कार्यक्रमको सञ्चालन गीतकार तथा गजलकार धिरेन्द्र प्रेमर्षिले गरेका थिए। उनले नेपाली, मैथिली र हिन्दी गजल प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक ढंगले अघि बढाए।

मेहरीलकोे आयोजक संस्था एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राजेन्द्र सलभले उक्त संस्थाले विगत २७ वर्षदेखि साहित्यिक क्षेत्रमा निरन्तर काम गर्दै आएको जानकारी गराउँदै गजल विधामाथि केन्द्रित यो संस्थाको पहिलो कार्यक्रम भएको बताए।

गजल र साहित्यिक संवादले भरिएको मेहेफिलले नेपाली र हिन्दी साहित्यबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो। कार्यक्रमले गजलप्रेमीहरूलाई अविस्मरणीय साहित्यिक अनुभूति दिलाएको थियो।