रानीसैन : सीमा होइन, सम्बन्ध बचाउने समय

376
Shares

बाजुरा ।

पछिल्ला केही समयदेखि रानीसैन–लाम्पाटा क्षेत्रलाई लिएर बाजुरा र हुम्लाका नागरिकबीच देखिएको तनावले दुई जिल्लाबीचको दशकौँ पुरानो आत्मीय सम्बन्धमा चुनौती खडा गरेको छ । एकातिर बाजुराका केही व्यक्तिहरूमाथि गोठाला नियन्त्रणमा लिएको, कुटपिट गरेको तथा खर्कमा आगजनी गरेको आरोप हुम्लाका केहीलाइ अरोप लागेको छ भने अर्कोतिर बाजुरेलीले दोषीमाथि कारबाही र न्यायको माग गर्दै आन्दोलन तथा सडक अवरोधका कार्यक्रम सञ्चालन गरेका छन् । उता सडक सञ्जाल खुलाउन अझै हुम्लामा पिन प्रदर्शन गरेका छन् । यस्ता घटनाले स्थानीय जनजीवन प्रभावित हुनुका साथै दुई जिल्लाका नागरिकबीच अविश्वास बढ्ने खतरा पनि देखिएको छ ।

रानीसैन केवल चरन क्षेत्र वा सीमाको विषय मात्र होइन । यो बाजुरा र हुम्लाका नागरिकबीच पुस्तौँदेखि कायम रहँदै आएको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धको साझा स्थल हो । यहाँका मानिसहरू दुःख–सुखमा साथ दिने, व्यापारिक सम्बन्ध कायम गर्ने र पारिवारिक नातासमेत गाँस्ने परम्परामा बाँधिएका छन् । त्यसैले कुनै एक घटनाको कारणले सम्पूर्ण सम्बन्धलाई बिग्रन दिनु बुद्धिमानी हुँदैन ।

यस्तो अवस्थामा सबैभन्दा पहिले दुवै जिल्लाका राजनीतिक नेतृत्वले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । उत्तेजना फैलाउने भाषण र आरोप–प्रत्यारोपभन्दा संवाद र समाधानको बाटो रोज्नुपर्छ । हुम्ला र बाजुराका अगुवा नेता, समाजसेवी, बुद्धिजीवी तथा सरोकारवालाहरू एकै ठाउँमा बसेर खुला संवादको थालनी गर्नु आजको आवश्यकता हो । संवादबाट धेरै जटिल समस्या समाधान भएका उदाहरण विश्वभर छन् । त्यसैले रानीसैनको विषय पनि वार्ता र समझदारीबाट समाधान गर्न सकिन्छ ।

त्यसै गरी दुवै जिल्लाका प्रशासन र सुरक्षा निकायबीच घनिष्ट समन्वय हुन आवश्यक छ । कुनै पनि घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनु प्रशासनको दायित्व हो । दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्छ । न्यायको अनुभूति भएमा नागरिकको आक्रोश स्वतः कम हुन्छ । यदि घटनालाई राजनीतिक वा भावनात्मक रंग दिएर मात्र हेरियो भने समस्या झन् जटिल बन्न सक्छ ।

विशेष गरी यस विषयमा सम्बन्धित स्थानीय तहहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । हिमाली गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय अगुवा, गोठाला, किसान तथा नागरिक समाजका प्रतिनिधिहरूलाई सहभागी गराएर संयुक्त बैठक आयोजना गरिनुपर्छ । स्थानीय तहले नै स्थानीय समस्या राम्रोसँग बुझ्ने भएकाले दिगो समाधान पनि त्यहीँबाट निस्कन सक्छ ।

स्थायी शान्ति स्थापना गर्न केवल विवाद समाधान मात्र पर्याप्त हुँदैन, साझा हितका कार्यक्रम पनि आवश्यक हुन्छन् । रानीसैन क्षेत्रलाई दुवै जिल्लाको साझा विकास र सहकार्यको नमुना बनाउन सकिन्छ । चरन व्यवस्थापन, पानीका स्रोतको संरक्षण, पशुपालन प्रवद्र्धन, पर्यटन विकास तथा वातावरण संरक्षणका संयुक्त कार्यक्रम सञ्चालन गरिएमा विवादको ठाउँमा सहकार्यको वातावरण सिर्जना हुन्छ । साझा विकासले साझा स्वामित्वको भावना बढाउँछ ।

यसका साथै युवा पुस्तालाई सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यका विषयमा सचेत बनाउनुपर्छ । सामाजिक सञ्जालमा अपुष्ट सूचना र उत्तेजक अभिव्यक्तिले द्वन्द्व बढाउने भएकाले सबैले संयमता अपनाउन आवश्यक छ । पत्रकारिता क्षेत्रले पनि सत्य, तथ्य र सन्तुलित सूचना प्रवाह गरेर शान्ति निर्माणमा योगदान दिनुपर्छ ।
आजको आवश्यकता कसैले जित्ने र कसैले हार्ने होइन । आवश्यकता भनेको दुवै जिल्लाका नागरिकले सम्मानपूर्वक सहअस्तित्व कायम राख्दै भविष्यतर्फ अघि बढ्नु हो । बाजुरा र हुम्ला एक–अर्काका प्रतिस्पर्धी होइनन्, परस्पर सहयोगी र सहयात्री हुन् । यदि अहिले नै संवाद, समन्वय र समझदारीको बाटो रोजिएन भने सामान्य विवादले ठूलो रूप लिन सक्छ र त्यसको असर दुवै जिल्लाका नागरिकले भोग्नुपर्ने हुन्छ ।

त्यसैले आज सबै पक्षलाई आग्रह छ– रानीसैनलाई विवादको प्रतीक होइन, एकताको प्रतीक बनाऔँ । सीमाभन्दा सम्बन्ध ठूला हुन्छन्, आरोपभन्दा विश्वास बलियो हुन्छ र द्वन्द्वभन्दा संवाद शक्तिशाली हुन्छ । यही भावनाका साथ बाजुरा र हुम्लाका नागरिक, जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र राजनीतिक नेतृत्वले आ–आफ्नो जिम्मेवारी निर्वाह गरेमा रानीसैनमा मात्र होइन, सम्पूर्ण क्षेत्रमै दिगो शान्ति, सद्भाव र विकासको नयाँ अध्याय शुरु हुन सक्छ ।