वाशिंटन, (एजेन्सी)
विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भएको छ ।
आइतबार बिहान भएको उक्त खेलमा १–० ले पछि परेको स्थितिमा ब्रुनो गुइमारेसको पासलाई सदुपयोग गर्दै रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरले गोल गरेर ब्राजिललाई सन् १९३४ पछिकै पहिलो खेलको सम्भावित हारबाट जोगाएका थिए । यो बराबरीसँगै समूह ‘सी’ मा ब्राजिल र मोरोक्को, हाइटीलाई १–० ले हराएर ३ अंक जोडेको स्कटल्यान्डभन्दा पछि परेका छन् । सन् २००२ पछि पहिलो पटक विश्वकप जित्ने दाउमा रहेको ब्राजिलले अब जुन १९ मा हाइटी र जुन २४ मा स्कटल्यान्डसँग खेल्नेछ ।
यसै खेलमार्फत ब्राजिलको नेतृत्व गर्ने पहिलो विदेशी प्रशिक्षक बनेका कार्लो एन्सेलोटीको विश्वकप डेब्यु भने चुनौतीपूर्ण रह्यो । टोलीको कमजोर प्रदर्शनपछि मिडियासँग कुरा गर्दै उनले टोलीको प्रदर्शनका लागि माफी मागेका छन् । एन्सेलोटीले यो पहिलो खेल भएकाले नतिजा पूर्ण रूपमा खराब नभएको र टोलीमा निरन्तर सुधार गर्दै अघि बढ्ने बताए । आफू निराश वा पूर्ण सन्तुष्ट दुवै नरहेको उल्लेख गर्दै उनले गल्तीहरू सुधार्न आलोचनालाई सकारात्मक रूपमा स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन् ।
समूह ‘डी’ को खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । क्यानाडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आइतबार बिहान भएको खेलमा अस्ट्रेलियालाई महत्वपूर्ण ३ अंक दिलाउन नेस्टोरी इरानकुन्डा र कोनर मेटाकाल्फले गोल गरे । खेलको २७ औं मिनेटमा इरानकुन्डाको गोलमार्फत अस्ट्रेलियाले पहिलो हाफमा अग्रता लिएको थियो ।
टर्कीले बल नियन्त्रणमा बलियो पकड बनाएर गोलका अवसरहरू सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन । त्यसपछि खेलको ७५ औं मिनेटमा मेटाकाल्फले दोस्रो गोल थप्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे। यो जितसँगै ३ अंक जोडेको अस्ट्रेलिया समूह ‘डी’ को दोस्रो स्थानमा उक्लिएको छ। समान ३ अंक भए पनि आयोजक अमेरिका गोलअन्तरका आधारमा समूहको शीर्ष स्थानमा छ भने पराजित टर्की र पाराग्वे अंकविहीन रहेका छन् ।











प्रतिक्रिया