सन्दीप र रामबहादुरलाई स्वर्ण



काठमाडौं ।

कञ्चनपुरका सन्दीप नाथ र कञ्चनपुरकै रामबहादुर थापाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा स्वर्ण जितेका छन् । कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले बाजुराका चिरञ्जीवि खड्कालाई पराजित गर्दै स्वर्ण जिते । पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्टलाई हराउँदै रामबहादुरले पहिलो स्थान हासिल गरे ।

पुरुषको ६३ केजी तौल समूहमा कञ्चनपुरका महेन्द्रकुमार चन्दले बाजुराका नेत्रकुमार तिरुवालाई हराउँदै काठमाडौंमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताका लागि आफ्नो नाम लेखाए । ६९ केजीमा कैलालीका भरत चन्दले कञ्चनपुरका नवीन जाग्रीलाई हराउँदै पहिलो स्थान हात पारे ।

७५ केजीमा तौल समूहमा अछामका भूपेन्द्र बिसीलाई हराउँदै कैलालीका बालाजी रावलले स्वर्ण पक्का गरे । पुरुषकै ८१ केजी तौल समूहमा कैलालीका श्यामबहादुर महताले अछामका प्रेमबहादुर सावदलाई हराउँदै पहिलो स्थान हात पारे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको महिला ५१ केजी तौल समूहमा कञ्चनपुरकी सोनिया सेट्टीले कैलालीकी ज्योति चौधरीलाई हराउँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन् । महिलाकै ५७ केजी तौल समूहमा कैलालीकी सञ्जिता चौधरीले कञ्चनपुरकै प्रतिमा शाहीलाई पराजित गर्दै पहिलो स्थान हात पारिन् ।

प्रतिक्रिया दिनुहोस्