फिल्म क्षेत्रमाथि पराजुलीको क्लोजअप



पत्रकार जीवन पराजुलीले नेपाली फिल्मका आयाम र पात्रमा आधारित रहेर लेखेको गैरआख्यान पुस्तक क्लोज–अप हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। पुस्तक अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभलगायतले सार्वजनिक गरेका थिए।

फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक तीन सय ६३ पृष्ठको छ। अनि शुरु भयो नेपाली चलचित्र उद्योग, राजेश हमाल : युगदेखि युगसम्म, भारतबाट नेपाली चलचित्र : सीमानाले अलग, भाषा र सिर्जनाले एक, साँघुरो छ आधा आकाश, चलचित्र निर्देशनमा चौथौं अंग र अन्त्यमा गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ती कालखण्डका फिल्मकर्मीको अनुभव, भोगाइ र संघर्ष समेटिएको छ।

कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गर्दै क्लोज–अप एउटा राम्रो दस्तावेज भएको तथा नेपाली फिल्मलाई नजिकबाट जान्न र बुझ्न चाहनेका लागि उपयोगी हुने चर्चा गरे। अभिनेत्री करिश्मा मानन्धरले डिजिटल युगमा धेरै कुरा इन्टरनेटबाट थाहा पाउन सकिने भए पनि किताबमा जस्तो विश्वास आफूलाई अरूमा नलाग्ने बताइन्।

‘किताबको आफ्नै महत्व छ। आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु। किनकि, किताबमा म वास्तविकता भेट्छु।’ निर्देशक तथा अभिनेत्री झरना थापाले क्लोज–अपले नेपाली फिल्मकर्मीको प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन्। निर्देशक दीपाश्री निरौलाले पुस्तकलाई आफूले नेपाली फिल्म र फिल्मकर्मीको दस्तावेजको रूपमा लिएको बताइन्।

चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले क्लोज–अपलाई उत्कृष्ट र सुन्दर सुरुवातको रूपमा व्याख्या गर्दै पुस्तकले नेपाली फिल्मको समग्र इतिहास र पात्रलाई समेट्न नसके पनि भोलीका दिनमा अझ फराकिलो रुपमा पुस्तक ल्याउन लेखकलाई आग्रह गरे।

पुस्तकबारे कार्यक्रममा अभिनेता उत्तम प्रधान, निर्देशकहरु नारायण पुरी, दिनेश डिसी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललगायतले पनि चर्चा गरेका थिए। लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्र समेट्न नसके पनि फिल्मको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरू पुस्तक पनि प्रकाशनमा ल्याउने बताए।

प्रतिक्रिया दिनुहोस्