एनबीएलले बास्केटबलको उचाइ बढ्नेछ



काठमाडौं ।

नेपालमा बास्केटबलमा धेरै लोकप्रिय रहेको छ । त्यसैले पनि बास्केटबल कोर्ट प्रायजसो नाम चलेका कलेज विद्यालयमा छन् । विद्यालय र कलेजस्तरीय धेरै प्रतियोगिता पनि भइरहेका छन् । तर, यतिले भने बास्केटबललाई व्यावसायिक भने गराउन सकेको छैन । अहिले यसलाई व्यावसायिक बनाउन नेपाल बास्केटबल संघले नेपाल बास्केटबल लिग (एनबीएल) शुरू गर्न लागेको छ । यसले बास्केटबललाई उचाइमा पुर्याउने अपेक्षा पनि गर्न सकिन्छ ।

आगामी वर्ष हुने एनबीएलमा ८ फ्रेन्चाइजी टिम रहनेछन् । काठमाडौं, भक्तपुर, कीर्तिपुर, ललितपुर, धरान, कास्कीको टिमले खेल्ने तय भइसकेका छन् । दुई वटा टिममा विराटनगर र चितवन वा अन्य टिम रहने कुरा भइरहेको पनि बताइएको छ । पश्चिम प्रदेशबाट एक टिम र पूर्व प्रदेशबाट एक टिम गरी दुई टिमलाई प्रतियोगितामा समावेश गराइनेछ ।

यो प्रतियोगिताले नेपाली बास्केटबल पनि लोकप्रिय हुने बास्केटबल खेलाडी मनेष राजोपाध्यायले बताउनुभयो । राष्ट्रिय खेलाडीसमेत रहनुभएका मनेषले बताउनुभयो–‘यो प्रतियोगिताले गर्दा नेपालमा बास्केटबलको भविष्य सुन्दर छ भन्ने सन्देश जानेछ । अक्शनको रूपमा हुने यो प्रतियोगिताले राम्रै गर्नेछ भन्ने मलाई लागेको छ ।

मनेषले थप्नुभयो–‘एनबीएलका लागि खेलाडीलाई तीन वर्गमा विभाजित गराएर अक्सन गरिनेछ । ए, बी र मार्की खेलाडीलाई छुट्टाछुट्टै गरेर अक्सन गर्दा धेरै खेलाडीलाई फाइदा हुने पक्कै छ । हालै पनि टेन्डी शेर्पा दाईको सम्झनामा बास्केटबल भयो । यसले पनि बास्केटबललाई टेवा दिएको छ । यो प्रतियोगिता पनि हरेक वर्ष गर्दै जाने भनिएकोले पनि भविष्यमा नेपाली बास्केटबलले फुटबल र क्रिकेटले जस्तै उचाइ लिनेछ भन्ने विश्वास गर्न सकिन्छ ।

एनबीएलका लागि दुई जना अन्तर्राष्ट्रिय खेलाडी पनि राखिने भएपछि यो प्रतियोगिताबाट प्रतिस्पर्धा हुने र रोमाञ्चक हुने आशा गर्न सकिन्छ । मनेषले बताउनुभयो –‘एनबीएलका लागि दुई जना अन्तर्राष्ट्रिय खेलाडीलाई प्रत्येक टिमले राख्न सकिने प्रावधान राखिएको छ । यसले गर्दा प्रत्येक टिमका नेपाली खेलाडीले विदेशी खेलाडीबाट केही सिक्न र उनीहरूको सीप र कलालाई आत्मसात गर्न सकिन्छ । यो भनेको हामी बास्केटबल खेलाडीको लागि फाइदाजनक नै हो भने भावी पुस्ताका खेलाडीका लागि पनि उनीहरूका कला सीप सिक्ने मौका पनि हो ।

प्रतिक्रिया दिनुहोस्