महिला र पुरुष भलिबलमा चितवन प्रथम



हेटौंडा, (नेस) ।

प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा जारी प्रथम खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष र महिला भलिबलमा चितवनले उपाधि जितेको छ । चितवनको माडी खेलमैदानमा भएको महिला भलिबलतर्फ चितवनले रामेछापलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । उक्त फाइनल खेल चितवनले २५–१०, २५–१८ र २५–११ को सोझो सेटमा जित्यो ।

यस्तै, पुरुषतर्फ भलिबल फाइनलमा चितवनले सिन्धुलीलाई सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो । चितवनले सिन्धुलीलाई २५–२१, २५–२१ र २५–१९ मा हराएको थियो । यसै गरी पुरुष फुटबलतर्फ दोलखा र ललितपुर सेमिफाइनलमा पुगेका छन् । हेटौंडाको क्याम्पा रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा ललितपुरले टाइब्रेकरमा ४–१ गोलअन्तरले रामेछापलाई पराजित गरेको थियो । दोस्रो खेलमा भक्तपुरलाई ३–१ गोलअन्तरले हराएर दोलखाले अन्तिम चारको स्थान सुरक्षित गरेको थियो ।

दोलखाका मिलन श्रेष्ठले ३७ औं मिनेटमा पहिलो गोल गरेका थिए । भक्तपुरका सनिश खड्गीले ४८ औं मिनेटमा गोल फर्काएका थिए । दोलखाका धिरज खत्रीले ६४ औं र सञ्जय जिरेलले ९२ औं मिनेटमा एक/एक गोल गरेपछि दोलखा विजयी भयो । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको पुरुष क्रिकेटतर्फ पहिलो खेलमा सुपरओभरमा दोलखालाई हराउँदै ललितपुर विजयी भएको छ । दोस्रो खेलमा काभ्रे सिन्धुपाल्चोकविरुद्ध ९ विकेटले विजयी भएको छ ।

मकवानपुरमा चैत ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराँते हुनेछ भने काठमाडौंमा चैत ६ गतेदेखि एथ्लेटिक्स प्रतियोगिता हुने परिषद्ले जनाएको छ । काभ्रेमा चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ प्रतियोगिता हुने सदस्य सचिव सूर्यलाल भण्डारीले बताए । खेलको समापन १२ गते काभ्रेको धुलिखेलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्