चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



लन्डन, (एजेन्सी) ।

युईएफए च्याम्पियन्स लिग फुटबलको गत सिजनको उपाधि विजेता इंग्लिस क्लब चेल्सी यस सिजन पनि क्वार्टरफाइनल प्रवेश गरेको छ । चेल्सीले फ्रेन्च क्लब लिललाई एग्रिगेटमा ४–१ को गोलअन्तरमा हराएर शानदार जितका साथ अन्तिम आठमा स्थान तय गरेको हो ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा चेल्सीले लिललाई उसैको घरेलु मैदानमा २–१ ले हरायो । यसअघि आफ्नो घरमा भएको पहिलो लेगका चेल्सीले २–० को सहज जित निकालेको थियो । दुवै लेग गर्दा चेल्सीले समग्रमा ४–१ को जित निकाल्यो । लिलको घरमा पाहुना टोली बनेर गएको चेल्सीले खेलमा पहिले गोल खाएको थियो । तर, त्यसपछि दुई गोल गरेर खेल जित्न सफल भयो । लिलले ३८औं मिनेटमा बुराक यिल्माजले पेनाल्टीमार्फत् गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

तर, केही मिनेटमै चेल्सी खेलमा फर्कियो । पहिलो हाफको इन्जुरी समयमा चेल्सीका लागि क्रिस्टिएन पुलिसिचले गोल गरेर खेल १–१ बनाएका थिए । त्यसपछि खेलको ७१औं मिनेटमा केसार एज्पिलिकुएटाले अर्को गोल गरेपछि दोसो लेगको खेल पनि चेल्सीले १–२ ले जित्न सफल भयो ।

दुवै लेगको नतिजा जोड्दा चेल्सी ४–१ को जितका साथ अर्को चरण पुगेको हो । यससँगै चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गर्ने तेस्रो इंग्लिस टिम बनेको छ । चेल्सीभन्दा अघि म्यानचेस्टर सिटी र लिभरपुल पनि क्वार्टरफाइनल प्रवेश गरिसकेका छन् । म्यानचेस्टर युनाइटेड भने अन्तिम १६ बाटै बाहिरियो ।

प्रतिक्रिया दिनुहोस्