बाबरले बचाए पाकिस्तानलाई



कराँची, (एजेन्सी) ।

बाबर आजमको शानदार १ सय ९६ रनको मद्दतमा पाकिस्तानले अस्टे«लियाविरुद्धको ३ खेलको सिरिजअन्तर्गत् दोस्रो टेस्ट बराबरी गरेको छ । कराँचीमा भएको उक्त टेस्टमा अस्टे«लियाले ५ सय ६ रनको विजयी लक्ष्य दिएको थियो । घरेलु टिम पाकिस्तानको लागि खेल बचाउन दुई दिन ब्याटिङ गर्नु पर्ने थियो । तर, बाबरले कप्तानी पारी खेलेर टेस्ट बराबरीमा सकाए । लाहोरमा निर्णायक तथा अन्तिम टेस्ट सोमबारदेखि हुँदैछ ।

बाबरले ४ सय २५ बलको सामना गरे भने उनी क्रिजमा १० घण्टा भन्दा बढी समय टिके । उनको कारण पाकिस्तानले दोस्रो इनिङ ७ विकेटको क्षतिमा ४ सय ४३ रन बनायो । बाबर अन्तिम दिनको खेल १२ ओभर बाँकी हुँदा आउट भएका थिए । अर्को बलमा फाहीम अशरफ पनि डकआउट भएपछि पाकिस्तानी टिमलाई समस्या भएको थियो ।

तर, मोहम्मद रिजवानले पनि शानदार ब्याटिङ गर्दै अस्ट्रेलियालाई जित्न दिएनन् । उनी १ सय ४ रनमा नटआउट रहेका थिए । उनले १ सय ७७ बलको सामना गर्दै शतकमा पुगेका थिए । उनी ३.१ ओभरको खेल बाँकी हुँदा आउट हुनबाट पनि जोगिएका थिए । उनको क्याच एक्स्ट्रा कभरमा रहेका उस्मान ख्वाजाले ड्रप गरेका थिए ।

बाबरको लय जारी
पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबरको ब्याटिङ निकै लयमा रहेको छ । बाबरले यसपटक पनि देखाए कि उनी किन नम्बर वान ब्याटसम्यान हुन् । २ विकेट २१ रनको लागि पतन भएपछि बाबरले ओपनर अब्दुल्लाह शफिकसँग २ सय २८ रनको दोहोरो शतकीय साझेदारी गरे । शफिकले ३ सय ५ बलमा ९६ रन बनाएर आउट भएका थिए ।

यसपछि बाबरले रिजवानसँग पाँचौं विकेटका लागि १ सय १५ रनको साझेदारी गरेका थिए । बाबरले नाथन लायनको बलमा आउट हुन अघि २१ चौका र १ छक्का प्रहार गरेका थिए । उनले ६ सय ३ मिनेट ब्याटिङ गरेको टेस्टको चौथो इनिङ दोस्रो सबैभन्दा लामो समय पनि हो । इंग्ल्यान्डका पूर्व कप्तान माइकल अथार्टन क्रिजमा बढी समय टिक्ने पहिलो स्थानमा छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध १९९५ मा ६ सय ४३ मिनेट टिक्दै नटआउट १ सय ८५ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्