चिसो एस्ट्रेलाई सकारात्मक प्रतिक्रिया



भोलि शुक्रबारदेखि देशभर रिलिज हुने फिल्म चिसो एस्ट्रेको मंगलबार राजधानीमा प्रिमियर शो गरिएको छ।शोमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। शोमा सहभागी सेलिब्रेटीले चिसो एस्ट्रेको कथा वाचन र दृश्य भाषा हलिउडस्तरको भएको चर्चा गरेका छन्। अभिनेता सन्तोष पन्तले फिल्म आफूलाई नेपाली हलिउड फिल्म हेरिरहेको भान भएको बताए।

पन्तले युवा पुस्तालाई केन्द्रमा राखेर बनाएको फिल्म क्वाँटी जस्तै सबै कुराको मात्रा मिलेको र राम्रो लागेको बताए। निर्देशक प्रदीप भट्टराईले नेपाली फिल्म हलिउडको स्तरमा किन बन्दैनन् भन्नेका लागि चिसो एस्ट्रे जवाफ भएको बताए। ‘सीधा भाषामा भन्दा यो हलिउड स्टाइलको सिनेमा हो। लुटपछि शैली ब्रेक गर्ने जुन सिनेमाको हामी खोजी गरिरहेका थियौँ। त्यो यही हो। दृश्य भाषामा यो ठूलो फड्को हो’ भट्टराईको भनाइ थियो।

अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट सिनेमा आफ्नो रोजाइमा रहने गरेको जनाउँदै फिल्मले काठमाडौं खोल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए। ‘पहिलो कुरा त यो मेरो स्वादमा पर्यो। यसमा ग्रिपिङ छ, कलाकारको काम एकदमै राम्रो छ’ हमालले भने। साहित्यकार कुमार नगरकोटीले यत्तिको सशक्त नेपाली फिल्म आफूले पछिल्लो समय नहेरेको जनाउँदै यसको संवाद, विम्बलगायतका विषय प्रभावशाली रहेको बताए। निर्देशक निश्चल बस्नेतले सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको चर्चा गरे।

फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले प्रिमियरमा प्राप्त प्रतिक्रियाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरेको बताए। कवि भूपी शेरचनको चिसो एस्ट्रे शीर्षकके कविताको भावलाई कथानक स्वरूप दिई निर्माण गरिएको फिल्म दिन्स पाल्पालीको निर्देशनमा बनेको हो। अजर जंगमको संगीत र उज्ज्वल बस्ताकोटीको छायांकन रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल, रविन तामाङलगायतको मुख्य भूमिका रहेको छ।

कार्यक्रममा भूपी पत्नी कान्ति शेरचनलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। उनले भूपीको कविताको भावलाई लिएर सिनेमा बन्नु नै सुन्दर पक्ष रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्