धुलिखेलको शंखुमा एक दिने पशु स्वास्थ्य शिविर

गाईको गर्भ परीक्षण, कुकुरलाई रेबिज विरुद्धको खोप



काभ्रे । 

धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखुमा एक दिने पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा १ सय ५० कृषकका गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, हाँस, कुकुरको परीक्षण गरिएको छ ।

धुलिखेल नगरपालिकाको पशुपक्षी शाखाको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वयमा आयोजित शिविरबाट पशुपालक कृषकहरूले लाभ लिएका थिए । शिविरमा पशुपंक्षीमा लाग्ने रोगका बारेमा जानकारी गराइएको थियो भने रोग लागे पछिको उपचार सँगै रोग लाग्नै नदिन कृषकहरूले पशुपक्षीको खानपान र रहनसहन, नियमित परिरक्षण हेरचाहमा ध्यान दिन अनुरोध गरिएको थियो ।

शिविरमा १ सय ५० जना कृषकहरूका ३ सय ९४ पशुको गोबर परीक्षण गरिएको थियो । शिविरमा गाई र भैँसी ३ सय ९९, बाख्रा ४ सय ९७, बंगुर ३३ वटा, कुखुरा तथा हाँस १ सय वटालाई नाम्ले जुका विरुद्धको औषधी वितरण गरिएको थियो । त्यस्तै ५५ वटा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ । सोही अवसरमा ३३ वटा कुकुर बन्ध्याकरण गरिएको थियो । १३ वटा गाईको गर्भ परीक्षण गरिएको छ ।

शिविरको उद्घाटन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख राजकुमार हुमागाईँले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै हुमागाईँले पशुपंक्षीहरुलाई स्वस्थ राख्न सके कृषकहरूको धन सञ्चित मात्रै नभई व्यक्तिहरूको स्वास्थ्यमा समेत प्रभाव पार्ने बताउनु भयो । पशुपक्षीहरूलाई स्वस्थ राख्न उनीहरूको नियमित स्वास्थ्य परिक्षण आवश्यक रहेको हुमागाईँले बताउनु भयो ।

कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष हर्कबहादुर तामाङले सबै कृषकहरूलाई सेवा पुग्ने गरी शिविरको आयोजना गरिएको बताउनु भयो । एक दिने शिविरमा समेट्न नसकिएका कृषकहरूका लागि घर घर सेवा उपलब्ध गराउने विषयमा पनि छलफल भएको वडा अध्यक्ष तामाङले बताउनु भयो । नगरपालिकाले धुलिखेलका हरेक वडामा रहेका पशुपक्षीहरूलाई नियमित खोप र परीक्षण कार्यक्रम सञ्चालन गरेको नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख पुरुषोत्तम हुमागाईँले बताउनु भयो । शिविरमा डा. नितेश कार्की, डा. अमृतकुमार देउजा लगायतका अन्य प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्