नाबालिका बलात्कारको आरोपमा युवक पक्राउ



न्युज अफ नेपाल, उदयपुर ।

उदयपुरको बेलका नगरपालिका–५ घुम्नेकी नौ वर्षीया नाबालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बेलका नगरपालिका– ५ घुम्ने लालीगुँरास टोलका करिब ३५ वर्षीय गणेश खत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

नाबालिकालाई खत्रीले प्रलोभनमा पारेर नजिककैको कुखुरा फर्ममा लगेर बलात्कार गरेको आरोप छ । घटनाका बारेमा स्थानीय बालबालिकाले खत्रीकी श्रीमतीलाई जानकारी गराएपछि सार्वजनिक भएको बेलका नगरपालिका– ५ का वडाध्यक्ष गोविन्द्रकुमार खड्काले जानकारी दिए ।

खत्रीले नाबालिकालाई यसअघि पनि पटक पटक बलात्कार गरेको खुलेको छ । पछिल्लो पटक घटना बारे नाबालिकाले घरमा जानकारी दिएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दिएका हुन्प । जाहेरीपछि खत्रीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको हो ।

घटना सार्वजनिक भएसँगै पक्राउ परेका खत्रीलाई अनुसन्धानका लागी जिल्ला अदालत उदयपुरबाट मंगलवार ७ दिनको म्याद थप गरिएको छ । नाबालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्