कीर्ते गरेको आरोपमा गुप्तामाथि जाहेरी



रौतहट ।

स्थानीय एक नगरपालिकाको उपप्रमुख र वडाध्यक्षको हस्ताक्ष कीर्ते गरेको आरोपमा नायव सुब्बाविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दर्ता भएको छ । रौतहटको ईशनाथ नगरपालिकाका शिक्षा शाखा संयोजक एवं नायव सुब्बा नन्दकिशोर गुप्तामा सो दर्ता भएको हो ।

उपप्रमुख हुस्ने आरा र वडाध्यक्ष इद मोहमदले नायव सुब्बा गुप्तालाई कारबाही गर्न भन्दै जाहेरी दर्ता गराएका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी लिन ०७८ माघ २४ गते उपप्रमुख हुस्ने आरा र ४ नम्बर वडाका वडाध्यक्ष इद मोहमदको नक्कली हस्ताक्षर र कागजपत्र तयार गरी दुरुपयोग गरेको आरोप छ । उजुरी परेपछि गुप्ता सम्पर्कविहीन छन् । सरुवा भएको दुई महिना बित्न नपाउँदै उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृत भुजेलको सरुवा गराएर नायव सुब्बा तहका गुप्ताले निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी लिन कीर्ते हस्ताक्षर गरेको पाइएपछि कारबाहीको प्रक्रिया थालिएको ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताले बताउनुभयो ।

नगरपालिकाको बैठकको निर्णयको प्रतिलिपि, चलानी नम्बरसमेत कीर्ते गरी नगरपालिकाको छाप र लेटरप्याड दुरुपयोग गरेको प्रतिलिपि मन्त्रालयबाट प्राप्त गरेको उहाँको भनाइ छ । नायव सुब्बा गुप्ताले नगरपालिकाको लेटरप्याड, छाप, र उपप्रमुख र वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको आधारमा मन्त्रालयले कार्यरत प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिमबहादुर भुजेललाई कटहरिया नगरपालिकामा सरुवा गरेर उनलाई निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि उनीविरुद्ध लिखतसम्बन्धी कसूर ९कीर्ते० जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले गुप्ताविरुद्ध जाहेरी दर्ता भएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनुभयो । रौतहटको १६ वटा नगरपालिकामा उपसचिवको दरबन्दी रहे पनि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका कर्मचारीको आर्थिक चलखेलका कारण दुई तह कनिष्ट सुब्बा लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको आरोपसमेत रहेको छ । दरबन्दीअनुरूप भुजेल मात्र १६ वटा नगरपालिकामध्ये ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका छन् । अन्य नगरपालिकामा भने संकेत नम्बरविहीन तथा प्राविधिक, शिक्षा, स्वास्थ्य, राजस्व समूहका सुब्बा तहको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्