जनप्रतिनिधि नहुँदा सेवाग्राही मर्कामा



सिर्जना पन्त, बागलुङ ।  

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ मा पछिल्लो एक सातादेखि सेवा लिन आउने सेवाग्राहीले सास्ती र हैरानी खेप्दै फर्किनुपरेको छ । काम गर्ने वातावरण नभएको भन्दै जनप्रतिनिधिले सामूहिक राजीनामा दिएपछि सेवा प्रवाह प्रभावित भएको हो ।

वडा कार्यालय जनप्रतिनिधिविहीन भएपछि कार्यालयमा सेवा लिन आउने सेवाग्राही मारमा परेका छन् । बागलुङ नगरपालिका–४ मा रहेको दावगरा बसपार्कको जग्गा व्यवस्थापनमा अनियमितता गरेको आरोपमा सोही वडाका वडाध्यक्ष ध्रुवबहादुर केसीसहित अन्य ८ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फागुन १३ गते विशेष अदालतमा मुद्दा दर्ता गरेपछि कार्यालय वडाध्यक्षविहीन भएको थियो ।

वडाध्यक्ष केसीले कार्यवाहक जिम्मेवारी दिएका महिला सदस्य पवित्रा थापासहित वडा सदस्य बाणिन्द्रबहादुर केसी र अमृता बराइलीले काम गर्ने वातावरण नभएको भन्दै फागुन २३ गते सामूहिक राजीनामा दिएपछि वडा कार्यालय जनप्रतिनिधि विहीन बनेको हो । एक सातादेखि वडा कार्यालय जनप्रतिनिधिविहीन हुँदा कार्यालयबाट प्रदान हुँदै आएका सेवा प्रभावित बनेको वडा सचिव शर्मिला केसी बताउनुहुन्छ ।

बागलुङ नगरपालिका–४ का कृष्णप्रसाद आचार्य आफ्ना छोराको जन्मदर्ता प्रमाणपत्र लिन वडा कार्यालय धाउन थालेको हप्ता दिन बित्यो । वडाध्यक्ष निलम्बनमा परेको सुनेका आचार्य वडा सदस्यले सिफारिस दिन्छन् भनेर वडा कार्यालय जानुभएको थियो । तर, कार्यालयमा वडा सदस्य पनि नभएपछि उहाँको काम रोकियो ।छोरीको नागरिकता प्रमाणपत्र निकाल्नका लागि वडा कार्यालयबाट सिफारिस लिन पुगेकी विष्णु केसीको समस्या पनि उस्तै छ । पछिल्लो एक सातामा तीनपटक वडा कार्यालय पुग्दा पनि रित्तो हात फर्किन परेको उहाँ बताउनुहुन्छ ।

वडा कार्यालयबाट सिफारिस लिएर नगरपालिकामा योजना माग गर्न जाने तयारीमा रहेका महोमद हेदायत हुसेनको पनि समस्या उस्तै छ ।घटना दर्ता, विवाह दर्ता, जन्मदर्ता, बसाइँसराइ, मृत्यु दर्ता र सम्बन्ध विच्छेद दर्ताको काम मात्रै आफूले गर्दै आएको तर जनप्रतिनितिद्वारा प्रदान गरिँदै आएका विधिन्न ३६ प्रकारका सिफारिस, योजना फछ्र्यौटलगाएतका काम प्रभावित बनेको सचिव केसीले बताउनुभयो ।‘दैनिक बढीमा २५ देखि कम्तीमा १२ जना सेवाग्राही वडामा सेवा लिन आउँछन्’, केसी भन्नुहुन्छ– ‘जनप्रतिनिधि नभएपछि सबैलाई फर्काउनुपरेको छ ।’ नागरिकताको सिफारिस, नक्सापास, चारकिल्ला, विद्युत्को मिटर जडान, खानेपानीको मिटर जडानसँगै नाता प्रमाणितका लागि आउने दैनिक दर्जनौं सेवाग्राहीलाई सेवा प्रभाव गर्न नसकिएको उहाँ बताउनुहुन्छ ।

त्यस्तै, वडा सदस्यहरुले राजीनामा दिएको विषयमा आफूलाई जानकारी नभएको बागलुङ नगरपालिकाका मेयर जनक पौडेल बताउनुहुन्छ । वडा कार्यालयको सेवा प्रभावित भएको विषयमा आफू जानकार रहेको र सहज सेवा प्रदानका लागि प्रयासरत रहेको भए पनि आफूसमक्ष वडा सदस्यहरुको राजीनामा आइनपुगेको उहाँको कथन ।

प्रतिक्रिया दिनुहोस्