चिसो एस्ट्रेलाई अस्ट्रेलियाबाट २७ लाख



आगामी शुक्रबारदेखि देशभर रिलिजमा आउने फिल्म चिसो एस्ट्रेको माग विदेशमा पनि दखिएको छ। फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ। फिल्मको निर्माण संस्था कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन्। कंगारु क्रिएसनका प्रमुख तथा चिसो एस्ट्रेका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अस्ट्रेलियन डलर (२७ लाख रुपियाँ) मा प्रदर्शन अधिकार किनेको जानकारी गराए।

कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म अस्ट्रेलियामा प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक भएको छ। ‘लामो समयपछि अस्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुन लागेको छ। यसले हामीसँगै अस्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ। यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ’ निर्माता तिमिल्सिनाले भने।

दिन्स पाल्पालीको लेखन र निर्देशन रहेको फिल्मले ट्रेलर सार्वजनिकीकरण पछि राम्रो चर्चा पाइरहेको छ। दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङलगायतका कलाकारले अभिनय गरेको फिल्म निर्माणमा महेश बाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन्। फिल्मको सह–निर्मातामा भने रूपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्