रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा टोटनह्याममाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो । घरेलु मैदानमा युनाइटेडलाई जिताउँदा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले शानदार ह्याट्रिक गोल गरे ।

उनले एक गोल डीबक्सभन्दा निकै टाढाबाट प्रहार गर्दै गरे भने अर्को एक गोल डीबक्स भित्रबाट र अन्तिम गोल हेडिङमार्फत् गरेर ह्याट्रिक पूरा गरे । टोटेनह्यामका लागि ह्यारी केनले पेनाल्टीमा गोल गर्दा अर्को गोल ह्यारी मगाएरको आत्मघाती गोल रहेको थियो । खेलको १२औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए ।

फ्रेडले दिएको पासलाई रोनाल्डोले नियन्त्रणमा लिँदै २५ यार्ड टाढाबाट गरेको प्रहार सीधै गोलमा परिणत भएको थियो । ३५औं मिनेटमा युनाइटेडका एलेक्स टेलेस पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि टोटेनहमले पेनाल्टी पाएको थियो । केनले उक्त पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर, युनाइटेडले तीन मिनेटपछि नै खेलमा अग्रता बनायो । जेडन सान्चोको लो क्रसलाई रोनाल्डोले ६ यार्ड बक्सबाट गोलमा परिणत गरे । आक्रमणका क्रममा सर्जियो रेगुइलोनले अफसाइड ट्रयाप बिगारेपछि सान्चो क्रस गर्ने पोजिसनमा पुगेका थिए । यस गोलसँगै रोनाल्डो आधिकारिक फुटबल तथ्यांकअनुसार सर्वाधिक गोल गर्ने खेलाडीसमेत बने । यस जितसँगै युनाइटेड २९ खेलमा ५० अंक जोडेको छ । पराजित टोटेनह्यामको भने २७ खेलमा ४५ अंक रहेको छ ।

रोनाल्डोको कीर्तिमानी गोल
सन् २००९ मा म्यानचेस्टर युनाइटेड छाडेका रोनाल्डोले यस वर्ष दोस्रोपटक युनाइटेडमा अनुबन्ध भएपछि पहिलोपटक ह्याट्रिक गरेका हुन् । उनले युनाइटेडका लागि सन् २००८ पछि पहिलोपटक ह्याट्रिक गरे । शनिबार रातिको तीन गोलसँगै रोनाल्डोले फुटबल इतिहासको सर्वाधिक गोलको रेकर्ड भंग गरेर आफ्नो नाममा लेखाएका छन् । चेक अस्ट्रियन खेलाडी जोसेफ बिकानले बनाएको ८ सय पाँच अफिसियल गोलको रेकर्ड रोनाल्डोले तोडे ।

शनिबार रातिको तीन गोलअघि रोनाल्डोका नाममा कुल ८ सय चार गोल थियो । ह्याट्रिक गोलपछि उनका नाममा ताजा अवस्थामा ८ सय सात गोल भएको छ । रोनाल्डोले क्लब फुटबल तथा पोर्चुगलको राष्ट्रिय टिमका लागि गरी कुल ८ सय सात गोल गरेका हुन् । उनले पोर्चुगलका लागि १ सय १५ गोल र बाँकी विभिन्न क्लबका लागि गरेका छन् ।

तर, बिकानको ८ सय पाँच गोल नै सर्वाधिक हो भन्नेमा मत भने विभाजित रहेको छ । यस सम्बन्धमा फिफाले जम्मा एकपटक यो संख्यालाई सर्वाधिक गोल भनेर आफ्नो तथ्यांकमा राखेको छ । फिफाले यसलाई ठ्याक्कै नभनेर अनुमानित मात्रै भनेको छ । तर, फुटबलमा गोलको तथ्यांक राख्ने ‘आरएसएसएसफ’ ले भने बिकानले आफ्नो करिअर दौरान ८ सय पाँच गोल नै गरेको र त्यो अब रोनाल्डोले भंग गरेको भन्दै बधाई समेत दिएका छन् ।

उता, बिकानको देशको फुटबल संघले भने सन् २००१ मै निधन भएका बिकानले आफ्नो करिअर दौरान ८ सय पाँच नभई ८ सय २१ गोल गरेको दाबी केही समयअघि मात्रै गरेको थियो । तर, त्यो गोल संख्या ८ सय २१ लाई पनि बढाएर ९ सय ५० पुर्याएको छ । तसर्थ, फुटबल इतिहासको सर्वाधिक अफियिसल गोल संख्या कति हो भन्ने विषयमा निश्चित तथ्यांक भने देखिँदैन । यद्यपि, धेरैले बिकानको गोल संख्यालार्ई पहिल्यैबाट ८ सय पाँच गोल नै मान्दै आएका छन् । यो नै सर्वाधिक गोल भए रोनोल्डोले यो गोल संख्यालाई शनिबार राति पछि पारे ।

प्रतिक्रिया दिनुहोस्