शुरु भयो वागमती प्रदेश खेलकुद



हेटौंडा, (नेस) ।

प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा हेटौंडामा तामझामका साथ प्रथम खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतियोगिता उद्घाटन गरेका हुन्। मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । हेटौंडा–५ मा निजीस्तरबाट भर्खर निर्माण गरिएको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

प्रतियोगितामा ८ विधामा खेल हुनेछन् । मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, ब्याडमिन्टन शुरु भएको छ भने चैत ५ गतेबाट तेक्वान्दो प्रतियोगिता शुरु हुनेछ । चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए । सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराते हुनेछ भने काठमाडौंमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषद्ले जनाएको छ ।

काभ्रेमा चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताए । प्रतियोगिताका लागि ८ करोड ४ लाख खर्च अनुमान गरिएको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्