बूढानीलकण्ठ टिम च्याम्पियन



काठमाडौं ।

आयोजक बूढानीलकण्ठ उमा कुङफु शाखाले बूढानीलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको उपाधि जितेको छ । सर्वाधिक १७ स्वर्ण जित्दै बूढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बनेको हो ।

बूढानीलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको सान्डातर्फ पुरुषमा बूढानीलकण्ठका सुरेन्द्र थापा मगर तथा महिलामा गोकर्णेश्वर उमा कुङफु शाखाकी सोनाम डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भएको अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका प्रतियोगिता संयोजक उद्धव थापा मगरले जनाएका छन् । सुरेन्द्रले ६०–६५ केजी तथा सोनामले ५०–५५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए ।

नेपाल उमा कुङफु संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताअन्तर्गत प्याटर्नको पुरुषमा गोकर्णेश्वरका फुर्वा दोङ तथा महिलामा बूढानीलकण्ठकी अञ्जली गुरुङ उत्कृष्ट खेलाडी चुनिए । फुर्वाले बेर ह्यान्ड स्पर्धामा स्वर्ण जिते । अञ्जलीले दोहोरो स्वर्ण जितिन् । अञ्जलीले बेर ह्यान्ड र वेपनमा शीर्ष स्थान कब्जा गरिन् ।उत्कृष्ट चारैलाई नेपाल उमा कुङफु संघले खाना÷बस्न सुविधासहित चीनमा निःशुल्क प्रशिक्षणका लागि पठाउने नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले प्रतिबद्धता जनाए ।

प्रतियोगितामा १ सय ३५ खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सञ्चालनका लागि नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सञ्जितकुमार राईको नेतृत्वमा १७ सदस्यीय निर्णायक टोली परिचालन गरिएको थियो । अफिसियलको पोशाक पोइजन जिन्सका प्रोप्राइटर जनक कार्कीले प्रायोजन गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्