भंगारालाई भलिबल उपाधि



काठमाडौं ।

भंगारा युवा क्लबले दशौं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । स्याङजाको सिरुवारीमा भएको फाइनलमा भंगाराले राङखोला युवा क्लबलाई २५–२१, २५–१९ र ३२–३० को सोझो सेटमा पराजित गर्यो । भंगाराका सौगात गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरूद्वारा आयोजित प्रतियोगितामा महाशिला युवा क्लब तेश्रो भयो । महाशिलाले खेवाङ युवा क्लबलाई २२–२५, २५–२३ र २५–१८ ले हरायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाए ।

भंगाराका राजकुमार नेपाली उत्कृष्ट खेलाडी चुनिँदै १० हजार नगद पुरस्कार जिते । खेवाङ युवा क्लब अनुशासित टिम चुनियो । खेवाङले १० हजार नगद पुरस्कार हात पार्यो ।

विजेतालाई स्याङजाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरात्रय पूर्व मेजर लीलबहादुर गुरुङ, देवबहादुर गुरुङ, हिमबहादुर गुरुङ, भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन २३ गतेदेखि शुरू प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्