यसपटक लिगमा लेभल बढेको छ : केसी



मेघराज केसी नेपाली फुटबल जगतमा यस्तो नाम हो, जसले नेपाली फुटबललाई उचाइमा पुर्याउनुभएको छ । उहाँको प्रशिक्षक भूमिकामा अहिले निकै चर्चा पनि भइरहेको छ । उहाँले पहिलोपटक ‘ए’ डिभिजनमा खेलेको टिम सातदोबाटो युथ क्लबलाई राम्रो पोजिसनमा ल्याउनुभयो । ‘ए’ डिभिजन लिगमा पहिलोपटक खेलिरहेको सातदोबाटो टिमको जिम्मेवारी लिनुभयो र उहाँले चौथो स्थानमा यो सिजनको अन्त्य पनि गराउनुभयो । यो भनेको नयाँ टिमको लागि उत्कृष्ट स्थान वा उपाधि नै जितेसरह पनि हो । सातदोबाटोले यस सिजनको लिगमा पुलिस, थ्रीस्टार र मनाङ मस्र्याङदी जस्तो लिगका महारथीलाई हराएपछि प्रशिक्षक केसीको वाहवाही पनि भयो । सम्वाददाता फिरोज राजोपाध्यायले नेपाल समाचारपत्रका लागि प्रशिक्षक मेघराज केसीसँग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ ।

तपाईंले ‘ए’ डिभिजनमा डेब्युमै सातदोबाटो टिमलाई राम्रो पोजिसनमा ल्याउनुभयो, कसरी सम्भव भयो ?
मेरो काम टिमलाई बलियो पार्नु हो, फुटबलमा चाहिने कुराहरू मिल्यो, आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन राम्ररी गरियो, साथै सबैको मिहेनतको फल पनि हो । एक्लैले गर्नु त सम्भव पनि छैन । लिगमा यही कारणले भिन्न नतिजा आएको हो ।

तपाईंले नयाँ टिमको जिम्मेवारी लिनुभयो, यसमा चुनौती त धेरै थियो नि?
हो, मैले नयाँ टिमलाई सम्हालें, मलाई चुनौती मनपर्छ पनि । हेर्नुस न खेलाडी जुनियर छन्, मेनेजमेन्ट नयाँ छ, उहाँहरूले शतप्रतिशत योगदान दिनुभयो । मेहनत गरेपछि राम्रै फल आउँछ भन्ने सर्वविदितै हो । माटोमा मलजल राम्रो गरियो भने उब्जनी पनि राम्रै हुन्छ । हाम्र्रो टिममा पनि यस्तै भएको हो ।

टिमलाई तयारी कसरी गर्नुभयो ?
हामीले लिग शुरू हुन ४ महिना अघिदेखि नै क्लोज क्याम्प शुरू गरेका थियौं । त्यतिबेला अरूले केही तयारी गरेकै थिएनन्, तर हामीले प्रशिक्षण शुरू गरिसकेका थियौ । म मेरो काम गरिरहेको हुन्छु, त्यसैले मैले मेरो टिममा कति क्षमता छ भन्ने मलाई थाहा पनि छ । मलाई पहिल्यै लागिसकेको थियो कि टिमले केही न केही गरिहाल्छ र नयाँ टिम भए पनि रेलिगेसनमा पर्दैन भन्ने गाढा विश्वास थियो पनि। मलाई आधि भन्दा बढी खेल जित्छ भन्ने विश्वास पनि थियो, नभन्दै यस्तै भयो ।

शुरुवाती खेलपछि कस्तो टिप्पणी आयो त ?
पहिलो खेलमा हामीले ‘ड्र’ खेलेको थियो । दोस्रो खेलमा थ्रीस्टारलाई हराएपछि सबैको हेर्ने दृष्टिकोण फरक भएको थियो । हामीलाई पनि लाग्यो अब, सातदोबाटोसँग खेल्न जुनसुकै टिम डराउन थाल्नेछ । हामीले राम्रो टिमलाई हराउनु पनि लिगलाई भिन्न बनाएको थियो ।

समग्रमा लिग कस्तो भयो ?
लिगमा लेभल बढेको छ । पहिलेको जस्तो थिएन । पहिले के हुन्थ्यो भने केही टिम निकै राम्रो हुन्छ, केही टिम औसत हुन्छ र केही निकै खराब हुन्छ । तर, यसपटक सबै टिम एकसे एक छन् । त्यसैले, पनि कुनै पनि टिमले पहिले जस्तो ७, ८ गोल हान्न पनि सकेन । लिगमा जुन पनि टिम रेलिगेसन पर्न सक्ने र जुन पनि टिम उपाधि जित्नै सक्ने समीकरण बनिरहेको थियो ।

लिगमा केही खेललाई छाडेर धेरैजसोमा दर्शक देखिएन, फुटबलको क्रेज कम भएको त होइन?
होइन, नेपालमा फुटबलको क्रेज कम भएको छैन । क्रेज छ । यहाँ खेलाडी राम्रा छन्, प्रतिभावान् खेलाडी भरिएको टिम छन् । तर, राजनीति गर्नेहरूले फुटबललाई बिगारिरहेको छ । जस्तो केही नेताले देशमा व्यक्तिगत स्वार्थको खेल खेल्छन् । त्यस्तै, फुटबलमा पनि व्यक्तिगत लाभको लागि राजनीति गर्नेको कमी छैनन् । नत्र भने फुटबललाई माया गर्ने यहा” कमी छैनन् ।

नेपाली फुटबलमा विदेशी खेलाडी कतिको आवश्यकता छ ?
विदेशी खेलाडी ल्याउनु भनेको नेपाली फुटबलको विकास गर्नु हो । नेपालमा जति पनि विदेशी खेलाडी आउ”छन् त्यति क्वालिटीको हुँदैनन् पनि । यसो भन्दैमा उनीहरू नराम्रो पनि होइनन् । जस्तै, पिटर शेगुन, मेसुके, स्टेफेनले राम्रो खेलेका छन् । उनीहरूकै कारण हाम्रा खेलाडीले केही सिक्छन् पनि । त्यसैले हाम्रो फुटबलमा विदेशी खेलाडीको आवश्यक नै छ ।

क्वालिटीका खेलाडी ल्याउन नसक्नुको कारण ?
हामीले युरोपका खेलाडी ल्याउनै सकिँदैन । हामीले एक जनाको लागि १ लाख डलर खर्च पनि गर्न सक्दैनौं । हामीले एजेन्टमार्फत् भिडियो क्लिप हेर्दै १ हजार, १२ सय डलरमा विदेशी खेलाडी अनुबन्ध गर्नु मात्रै हो । उनीहरूले राम्रो खेल्ने नखेल्ने उनीहरूमाथि नै भर पर्छ ।

नेपाल सुपर लिग (एनएसएल) शुरू हुन लाग्दा खेलाडीलाई बन्देज लगाइयो, यो कतिको ठिक हो ?
अक्सन भइसकेको छ । क्लबले खेलाडीलाई बन्देज लगाउनु ठिक त होइन । खेलाडीकै लागि हो एनएसएल । उनीहरूले जति खेले त्यति राम्रै हुने हो । लिग सकियो, खेलाडी के गर्छन् त अब, उनीहरूको लागि खेल्न दिनुपर्छ । यदि क्लबले १२ महिना नै तलब ख्वाउने हो भने यो गर्न सक्छ । यदि अर्को नियतले बन्देज लगाएको छ भने त्यो ठीक भएन ।

तपार्इं यसपटक एनएसलमा कुन टिममा हुनुहुन्छ ?
यसपालि म इलामको टिममा छु । मैले यसअघि चितवनको टिमलाई प्रशिक्षण गरेको थिएँ । हेरौं यसपटक नयाँ टिममा गएको छु, मैले फेरि अर्को चुनौती स्विकार गरेको छु ।

प्रतिक्रिया दिनुहोस्