अल्ट्रा म्याराथनमा सुनुवार पहिलो



तनहुँ ।

पाँचौं व्यासनगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका वेदबहादुर सुनुवारले जितेका छन् । सेनाका सुनुवारले व्यास ५ को मानुङदेखि व्यास ८ को पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेट ७ सेकेन्डमा पार गरेका हुन् । उनले ८५ हजार ७८ रुपियाँ पुरस्कार, ट्रफी र प्रमाणपत्र पाएका छन् ।

व्यास नगरपालिकाद्वारा ‘पर्यटकीय गाउ’ मानुङ र शहीदहरूको गाउँ पुलिमर्याङलाई खेलकुदको माध्यमबाट जोडेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित म्याराथनमा नेपाली सेनाकै बरख गण धनकुटामा कार्यरत अमल्दार मोहनदेव जोशी द्वितीय भएका छन् । जोशीले ३ घण्टा ५ मिनेट ५१ सेकेन्डमा उक्त दुरी पार गरेका हुन् । जोशीले ६५ हजार ७८ नगद प्राप्त गरेका छन् ।

सोही दूरी ३ घण्टा ९ मिनेटमा पार गरी नेपाली सेनाकै नवराज साउद तृतीय भएका छन् । दोस्रो व्यास नगर अल्ट्रा म्याराथनमा प्रथम भएका साउदले तृतीय हुँदै ५५ हजार ७८ नगद प्राप्त गरे । म्याराथनमा सुमन कुलुङ, गोपाल तामाङ, दुर्गा बहादुर बुढा, शेर बहादुर थारू र प्रमिश गुरुङ सान्त्वना भएको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार सान्त्वना भएका पाँच जनालाई १६ हजार ७८ रुपियाँका दरले पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्