झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा



भद्रपुर ।

घरेलु टोली झापा­११ फुटबल क्लब पाँचौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ अन्तिम चारमा पुगेको हो । विजेता टिमका लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा–११ लाई एक गोल उपहार दिएको थियो । रेडपान्डाले एक गोल फर्कायो । टिमका लागि ६६औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरेका थिए । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डिएरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

झापाले खेलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३१औं मिनेटमा विमलले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले रुपेश बर्तौलालाई डिएरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरेका र्थिए । ५५औं मिनेटमा सिक्किमका पिन्सो भुटियाले आत्मघाती गोल गरे । झापाका लागि तेस्रो गोल ५८औं मिनेटमा कप्तान विशालले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्ड भएको बललाई पोस्टको दिशा दिएका थिए ।

७७औं मिनेटमा विमलले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको ह्यान्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरेका थिए । तर, ६०औं मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुपले पञ्च गर्दै बचाए । खेलको ८९औं मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पुर्याए । मैदानको मध्यभागबाट गरेको प्रहार गोलमा परिणत भयो ।

खेलको ८४औं मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । सिक्किमका कुनेमान थापाले खेलको १६ औं मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो । बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाएका थिए ।

योसँगै पाँचौं संस्करणको झापा गोल्ड कपको सेमिफाइनलको समीकरणका खेल पूरा भएको छ । जितसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्