एलिनाको अर्जुन दृष्टि



काठमाडौं ।

एलिना महर्जनको अनुहारमा जब खुसी छाउँछ, जब मन्द मन्द हाँसो फुट्छ, त्यो साँच्चै मनमोहक हुन्छ । अनि अनुहारमा हल्का ‘खाल्डो’ पनि बस्छ । त्यसै पनि एलिना धेरै बोल्न रूचाउँदैनन्, तर उनको अनुहारले नै सबथोक भनिरहेको हुन्छ । विशेषतः आँखाले केही बोल्न चाहिरहेको हुन्छ र त्यसको सार हो, त्यो दिन धेरै टाढा छैन्, जब उनी टेबल टेनिसमा नेपालको महिला च्याम्पियन हुनेछिन् । जति बेला एलिनाको नाम आउँछ, त्यसै पनि उनकी भाउजु नविता श्रेष्ठको पनि नाम आउँछ ।

एउटै घरमा एकपछि अर्को उत्कृष्ट खेलाडी भयो भने हुने नै यस्तो हो, त्यो पनि खुसीको समस्या । टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले धेरै वर्ष अगाडि नयाँ बजारको परिवारमा टेबल टेनिस खेल के भित्र्याए, त्यसका परिवार सबै खेलाडी जस्तै बने । जस्तो, एलिना र अन्य दुई दिदी बहिनी । पछि त्यस घरमा नविता पनि भित्रिइन् । त्यस अगाडि पनि उनी च्याम्पियन थिइन्, पछि पनि च्याम्पियन रहिन् । त्यो पनि कीर्तिमान आठपल्टको, त्यसमाथि झन लगातार ।

त्यसमध्ये पछिल्ला पाँच अवसरमा नविता च्याम्पियन हुँदा उप विजेता रहेकी थिइन्, यिनै एलिना । को जित्यो, को हार्यो, त्यो आप्mनो ठाउँमा छ, तर एलिना छिन् र पो नविता पनि छिन् । भनिरहनु पर्दैन, नेपाली टेबल टेनिसले पाएका उत्कृष्ट महिला खेलाडीमध्ये एक हुन्, एलिना । उनको नाममा दक्षिण एसियाली खेलकुद (साग) मा जितेको दुई कांस्य छ । एउटा लेडिज डबल्समा, त्यो भयो १२ औं सागको । अर्को टिम इभेन्ट्समा, त्यो भयो १३ औं सागको ।

भारतमा भएको १२ औं सागमा लेडिज डबल्समा पदक जित्दा एलिनाको पार्टनर को थिए होला ? यसको उत्तर सही अनुमान गर्नुहुन्छ भने त्यसमा कुनै पुरस्कार रहने छैन्, किनभने उनी हुन्, तिनै नविता । यसअघि, नविता आफैँ पनि पिपुल्स च्वाइस अवार्ड जितिसकेकी खेलाडी हुन् । यसपल्ट नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको पल्सर स्पोर्टस् अवार्डको यही विधाको मनोनयमा परेकी छिन्, एलिना । र, खुसी छिन्, आफू यस विधाको मनोनयमा परेकोमा उनी ।

अब प्रश्न उठ्छ, के एउटा परिवारका दुई सदस्यले पिपुल्स च्वाइस अवार्ड जितेको कीर्तिमान बन्न सक्छ त ? किन नसक्नु ? यसका लागि नेपाली टेबल टेनिस मन पराउनेले एलिनाको नामम भोटिङ गर्नुपर्नेछ । एलिनाका प्रशंसकले उनको नाममा भोटिङ गर्न प्रेरित गर्न सक्नुपर्छ । केही गाह्रो छैन्, यो काम । विद्युतीय भुक्तानी माध्यम ई–सेवाबाट मतदान गर्न सकिन्छ । अनि एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको फेसबुक पेजमा गएर लाइक पनि गर्न सकिन्छ ।

फेरि एलिनामै फर्कने हो भने उनलाई आफ्नो खेलमा के राम्रो छ र के नराम्रो छ, त्यो राम्रैसँग थाहा छ । उनी चाहन्छिन्, ढंगको प्रशिक्षण व्यवस्था होस, खुलेर खेल्ने माहोल होस, कुनै दिन नेपाल च्याम्पियन त हुने नै छ होला, अन्तर्राष्ट्रिय स्तरमै पनि केही गर्न सकिन्छ । अझ ठ्याक्कै भन्दा अहिलेका लागि अर्जुन दृष्टि छ उनको, नेपाल च्याम्पियन हुनेमा । उनको खेलको सबैभन्दा राम्रो पक्ष हो, आक्रामक हुनु । मीठो न मीठो फोरह्यान्ड हान्छिन् उनी ।

सायद प्रतिद्वन्द्वी टिमको आक्रमणमा दिने प्रतिक्रियामा केही सुस्त छिन् कि ? फुटवर्कमा पनि अलिक सुधार आवश्यक छ कि ? अझ झनक्क रिसाउने बानी पनि छ कि ? उनमा यी कमजोरी नभएको होइन् । विश्व खेलकुदमा सबैमा पूर्ण खेलाडी कहाँ पाइन्छ र ? मुख्य कुरा लक्ष्य प्राप्तिका लागि गरिने साधना हो । यसमा एलिना पटक्कै कन्ज्युयाइ गसिररहेकी छैनन् । जस्तो, खेल्नका लागि नियमित अभ्यास, कडा मिहिनेत त भयो नै, उनी आफू मानसिक रूपमा बलियो हुन मेडिटेसन पनि गर्छिन् ।

राम्रा कलाकार पनि हुन्
मेडिटेडसन मात्र होइन्, अन्य खाले मानसिक अभ्यास पनि । र, एलिनाबारे एउटा अर्को तथ्य । उनी पेपर क्राफ्टकी निकै राम्रा कलाकार हुन् । कम बोल्ने बानी भयो नै, बरू खुरुखुरु कागजको मदतले नयाँ नयाँ सिर्जना गरिरहेकी हुन्छिन् । यसले उनलाई खुसी बनाउँछ, सकुन मिल्छ । त्यो दिन उनी अझ खुसी हुनेछिन्, जति बेला नेपाल च्याम्पियन हुनेछिन् । यसका लागि शुभकामना । अहिलेका लागि उनी यही पल्सर स्पोर्टस् अवार्डमा केन्द्रित हुन चाहन्छिन् ।

उनलाई राम्रोसँग थाहा छ, पिपुल्स च्वाइस अवार्ड जित्नका लागि उनका साथीभाइ उठ्नुपर्छ, सिंगै नेपाली टेबल टेनिस जुरुमुराउनु पर्छ । उनकै आफ्नै परिवारको सहयोग त चाहियो नै, दाइ राकेशको पनि । भाउजु नविताको पनि । फेरि उनी नेपाल प्रहरीसँग आबद्ध खेलाडी पनि हुन् । नेपाल प्रहरीले पनि उनलाई आम खेल प्रेमीमाझ लोकप्रिय खेलाडी बन्न उत्तिकै धेरै मद्दत गर्न सक्छ । विश्वास गरौं, एलिनाको नेपाल च्याम्पियन हुने लक्ष्यमा पिपुल्स च्वाइस अवार्ड एउटा बलियो खुडकिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्