ग्याङस्टारको कथामाथि लप्पन छप्पन–२



रोना संक्रमण दर घट्दै जाँदा नेपाली फिल्मको व्यापार फर्केको छ। व्यापारमा वृद्धि हुन थालेपछि नयाँ फिल्महरू पनि धमाधम रिलिज हुने थालेका छन्। यसै क्रममा आज शुक्रबारदेखि अल नेपाल लप्पन छप्पन–२ (एलसी–२) रिलिज हुने भएको छ।

लप्पन छप्पनको सफलतापछि नामका आधारमा त्यसैको सिक्वेलस्वरुप निर्माण गरिएको लप्पन छप्पन २ को रिलिजको पूर्वसन्ध्यामा बिहीबार राजधानीमा रेडकार्पेटसहित ग्रयान्ड प्रिमियर शो गरिएको छ।

एक्सन ड्रामामा बनेको फिल्ममा मल्टीस्टारलाई देख्न पाइनेछ। फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, नवीन मानन्धर, विशाल पहाडी, सरिता गिरी, किशोर भट्ट, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन् भने शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सिर्जना सिना, रञ्जित वन्तलगायतका नयाँ प्रस्तुतिको अभिनय पनि हेर्न पाइनेछ। फिल्ममा एक्सन किङ शिव श्रेष्ठ पहिलोपटक खराब राजनीतिज्ञको भूमिकामा देखिएका छन्।

शिवले चार दशक लामो फिल्मी करियरमा पहिलोपटक फरक र चुनौतीपूर्ण भूमिका निवार्ह गर्ने अवसर पाएको बताए। त्यसैगरी, अभिनेता अर्पण थापाले कोरोना महामारीपश्चात् फिल्म रिलिज हुँदा उत्साहित भएको बताए। निर्देशक मुकुन्द भट्टले फिल्म पहिलो संस्करणभन्दा धेरै गुणाले उत्कृष्ट बनेको बताए। उनले फिल्मको पहिलो भागले दर्शकबाट राम्रो साथ पाए पनि आफू सन्तुष्ट हुने नसकेको तथा आफू र दर्शक दुवैलाई सन्तुष्ट बनाउन दोस्रो भाग निर्माण गरेको बताए।

नेपालसहित विदेशमा छायांकन गरिएको फिल्ममा अन्तर्राष्ट्रिय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितिलाई चित्रण गरिएको छ। गोल्डेन हिल्स पिक्चर्स र इपी एजुकेसन अस्ट्रेलियाको ब्यानरमा निर्देशक मुकुन्द भट्टका साथमा प्रकश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मलकुमार मिश्र, सुदीपचन्द्र भखरेल र सन्तोषचन्द्र बखरेलद्वारा निर्मित तथा खिलेन्द्रराज तिमसिनाद्वारा प्रस्तुत फिल्ममा निर्देशक भट्ट र सुनील नेउरेको पटकथा र संवाद, शम्भुजित बाँसकोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र सिमोन तामाङको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। फिल्ममा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्