धुलिखेल नगरपालिकाद्वारा दलित समुदायका ३० घरलाई इन्डक्सन चुल्हो प्रदान

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 
धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका ३० वटा घर परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गर्दा दलित समुदायको आय स्तर बढ्न नसक्दा थप व्यवहार पर्न नदिन स्थानीय सरकारको तर्फबाट कम खर्चमा खाना पकाउन सहज हुने चुल्हो उपलब्ध गराइएको वडा अध्यक्ष पुस्प राउतले बताउनु भयो ।
‘ग्याँस तथा दाउराको प्रयोगमा इन्डक्सन चुल्हो सहज र सरल हुन्छ’–वडा अध्यक्ष राउतले भन्नुभयो–‘वडा कार्यालयले चालु आर्थिक वर्षका लागि दलित उत्थान कार्यक्रम शीर्षकमा विनियोजन गरेको ९९ हजार रकमबाट चुल्हो खरिद गरिएको छ । केही रकम अपुग भएको छ । कार्यालयले अन्य शीर्षकबाट व्यवस्थापन गर्नेछ ।’ प्रति चुल्हो भ्याट सहित ४ हजार ३४ रुपैयाँका दरले १ लाख २३ हजार रुपैयाँ खर्च भएको अध्यक्ष राउतले बताउनु भयो । कार्यक्रममा उपप्रमुख विमला शर्माले धुलिखेल नगरपालिकाले विभिन्न परिषद्हरू गठन गरी गरिबी न्यूनीकरणका लागि कार्य गरिरहेको बताउनु भयो ।
‘हामीले सिप सिकाउँदै प्रविधि र सामाग्री हस्तान्तरण गरिरहेका छौँ’–उपप्रमुख विमला शर्माले भन्नुभयो–‘इन्डक्सन चुल्हो उपलब्ध गराउँदा विपन्न परिवारलाई राहत हुनेछ ।’ धुलिखेल नगरपालिकाले चालु वर्षमा करिब ५ सय भन्दा धेरै इन्डक्सन चुल्हो वितरण गर्ने उहाँले बताउनु भयो । चुल्हो वितरण कार्यक्रममा धुलिखेल ९ का अध्यक्ष वसन्त रानाभाट, वडा सदस्यहरू देवराज शाह, पम्फा बुढाथोकी, विमला विक, इन्द्रकुमार तामाङ, वडा सचिव ईश्वरप्रसाद सापकोटा लगायतले वडा मार्फत भएका गतिविधिका साथै नगर, प्रदेश र संघ सरकार मार्फत भएका विकास निर्माणका कार्यहरूका बारेमा जानकारी गराएका थिए । वडा मार्फत दलित विद्यार्थीलाई छात्रवृत्ति, किरिया पुत्री भवन निर्माण भएको छ भने नगर मार्फत आरन तथा सिलाईका मेशिनहरू उपलब्ध भएको छ । दलित सदस्यहरूलाई ड्राईभिङ्ग तालिम, सिलाई तथा कृषि तालिम उपलब्ध गराइएको छ । सिप सिकेकाहरू ब्यवसायीकता तर्फ उन्मुख भएको सुमन पुर्काेटीले बताउनु भयो ।
वडा अध्यक्षको चेतावनी 
वडा अध्यक्ष पुस्प राउतले वडा कार्यालय मार्फत भएका विकास निर्माणमा अनियमितता भएको भए प्रमाण सहित देखाउन चुनौती दिनु भएको छ । केही दिन अघि केही राजनीतिक दलका स्थानीय कार्यकर्ताहरुले अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै वडा अध्यक्ष राउतले आक्रोश व्यक्त गर्नु भएको हो । वडा कार्यालयले गरेका गतिविधिहरू हरेक वर्ष सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्ने गरिएको, वडा कार्यालयले पाँच वर्ष योजना पुस्तक सार्वजनिक गरी कार्यान्वयन गरिरहेको, बजेट प्राप्त, खर्च र योजनाका बारेमा वडा कार्यालयले तथ्य सहितका विवरण पारदर्शी, जबाफदेही हुँदै सुशासन कायम गरेको वडा अध्यक्ष राउतले बताउनु भयो ।
स्थानीय कहिले एक घर धारा अभियानमा वडा अध्यक्षले विनियोजन बजेटको हिसाब नदेखाएको भन्दै सामाजिक सञ्जालमा अतिरञ्जित गरेका थिए । वडा कार्यालयले हरेक माघ २४ गते स्थानीय तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई वडा कार्यालयमा निमन्त्रणा दिएर वडा कार्यालयले गरेका हिसाब किताबका बारेमा जानकारी गराएको अध्यक्ष राउतले बताए । सिमल चौर सल्लाघारी खानेपानी निर्माण उपभोक्ता समितिले वडामा भएका सबै घरका लागि एक घर एक धारा अभियानका लागि १ करोड ४ लाख लाग्ने इस्ट मेट गरेको थियो । बहुबर्षिय आयोजना भएकाले प्रदेश सरकारले आर्थिक वर्ष २०७५-२०७६ मा २३ लाख, २०७७ जेष्ठ २७ गते नगरपालिकाबाट १५ लाख ८४ हजार, साउन २६ गते ३ लाख ३७ हजार, फागुन ६ गते १६ लाख ३५ हजार ८ सय ३०, २०७८ भदौ ३ गते ५ लाख ७७ हजार २ सय २३, कार्तिक १४ गते ७ लाख ९३ हजार र माघ १४ गते ७ लाख ७३ हजार गरी ५७ लाख २ सय ७१ रुपैयाँ खर्च भएको बताइएको छ ।
प्रदेश स्तरबाट प्राप्त बजेटमा बोलपत्र मार्फत गरिएको थियो भने १३ लाख उपभोक्ताहरूबाट संकलन भएको थियो । प्राप्त रकम अनुसार पूर्वाधार निर्माण भएको वडा अध्यक्ष राउतले बताउनु भयो । विद्यालय भवन निर्माण समितिमा रहेर अनियमितता गर्ने, सार्वजनिक जग्गामा घर बनाउने, सार्वजनिक प्लटिङ गरी विक्री गर्ने र त्यसका लागि साक्षी समेत बस्ने स्थानीय अराजकहरूले वडामा भएको विकास र समृद्धिलाई आत्मसाथ गर्न नसकेको वडा अध्यक्ष राउतले बताउनु भयो ।